नेकपाको प्रदेश कमिटि सदस्य चयन गर्ने जिम्मा पौडेल र थापालाई

title
बिहिबार, कार्तिक ८, २०७५

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश कमिटीलाई पूर्णता दिन र जिल्ला तहको विवाद मिलाउन नयाँ विधि र मापदण्ड बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रदेश कमिटीका सदस्यहरु चयन गर्नका लागी नयाँ विधि र मापदण्ड बनाउने निर्णय गरेको हो ।

बैठकले नयाँ विधि र मापदण्डको मस्यौदा तयार पार्न सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेको कार्यदल समेत गठन गरेको छ । उक्त कार्यदलले नयाँ विधी र मापदण्डबाट प्रदेश कमिटीमा रहने सदस्यहरु चयन गर्ने र त्यसलाई सचिवालयबाट टुङुगो लगाई स्थायी समिति बैठकमा पेश गर्नेछ ।

यसअघि तल्लो तहमा एकता प्रक्रियामा देखिएको विवाद हल गर्न वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ विधि र मापदण्डको माग गर्नुभएको थियो । बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजनका लागी पनि गृहकार्य गर्ने जिम्मेवारी दुईसदस्यीय कार्यदललाई दिईएको महासचिव पौडेलले जानकारी दिनुभयो । बैठकमा सरकारको कामको समीक्षा गर्ने बताइएपनि समीक्षा भने नभएको महासचिव पौडेलले बताउनुभयो ।