नेकपाको सचिवालय बैठक आज पनि जारी

title
सोमवार, कार्तिक ५, २०७५

काठमाडौं । पटक पटक स्थगन हुँदै आएको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आईतबारबाट सुरु भएको छ ।

सोमबारसम्म बस्ने बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, कात्तिक १२ र १३ गते हुने स्थायी समिति बैठकको कार्यसूची तय हुने बताईएको छ । त्यस्तै संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल हुने नेकपाले जनाएको छ ।

गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता घोषणामा तीन महीनाभित्र तल्लो तहसम्म एकतालाई पूर्णता दिने जनाइएको थियो । प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको चयनमा वरिष्ठ नेता माधवकुमार नेपालको सार्वजनिक रुपमा व्यक्त गरेको असन्तुष्टि, मन्त्रीहरुको कार्यप्रगति लगायत विषयमा नेकपाभित्र विवाद हुदै आएको छ ।

बैठकले उक्त विवादका विषयमा छलफल गरि निचोड निकाल्ने बताईएको छ । गत असोज २२ को सचिवालय बैठकले असोज २४ का लागि तोकेको बैठक पटक पटक स्थगीत हुदै आईतबार र सोमबारका लागी तय भएको थियो ।