नेकपाको सचिवालय बैठक बस्दै, एक दर्जन बढी एजेन्डा

title
बुधबार, कार्तिक ७, २०७५

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी -नेकपा०को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक दिउँसो बोलाइएको छ । समय भने एकिन भएको छैन ।

सचिवालय बैठकमा पार्टी एकीकरण, जनसंगठनहरुको एकीकरण, सरकार र संसदका कामको समिक्षालगायतका एजेन्डा प्रस्तावित रहेका छन् । बैठकमा पोलिटब्यूरो, केन्द्रीय विभाग र केन्द्रीय निकायको गठन लगायतका करिब एक दर्जन एजेन्डामाथि छलफल हुने जनाइएको छ ।

आइतबार र सोमबार बसेको सचिवालय बैठकले सांसद रामवीर मानन्धरले दिएको राजीनामा, बरिष्ठ नेता माधव कुमार नेपालले सचिवालयको निर्णयमा राखेको असहमतिपत्रको एजेन्डामा निर्णय गरेको थियो ।

यता बरिष्ठ नेता नेपाल र नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबारको बैठकमा नोट अफ डिसेन्ट दर्ता गराउनु भएको थियो । दुवै नेताले राखेको असहमतिबारे स्थायी समितिको बैठकमा छलफल गर्ने बैठकले तयारी गरेको छ । नेकपाको स्थायी समिति बैठक यहि कात्तिक १२ र १३ गते बस्दैछ ।