(नेकपा)को सचिवालय बैठक बुधबार पुनः बस्नेगरि स्थगित

title
सोमवार, अशोज २२, २०७५

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बुधबार पुनः बस्नेगरि स्थगित भएको छ ।

सोमवार बसेको सचिवालय बैठकले स्थायी कमिटीको बैठक डाक्नेलगायतका कार्यसूची टुंग्याउन नसकेपछि बैठक पुनः बुधबार बस्नेगरी स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

सोमवारको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७३औँ महासभामा गरेको प्रतिनिधित्व, अर्का अध्यक्ष पुष्पकमल दाहालको चीन भ्रमण, नेता माधव नेपाल, प्रवक्ता श्रेष्ठको चीन भ्रमण र त्यहाँ भएको छलफलबारे बैठकलाई जानकारी गराइको थियो ।

२४ गते बस्ने सचिवालयको बैठकको कार्यसूची पनि तय भएको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले महासभामा विशेष गरी नेपालको शान्ति प्रक्रिया, निर्वाचनपछिको विकासको गति आदिबारे अन्तर्राष्ट्रिय समुदायलाई सुसूचित गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेश र जिल्ला तहका कमिटी एकीकरणका लागि पर्याप्त छलफल गर्नुपर्ने, सरकार र पार्टी सञ्चालनबारे घनिभूत छलफल गर्न समय पर्याप्त नभएकाले पुनः बैठक बस्ने र त्यस बैठकले स्थायी कमिटीको बैठकमा पेश गर्ने एजेन्डा, कार्यसूची, प्रस्तावसमेत तयार पार्ने उहाँले बताउनुभयो ।

पछिल्लो समय तेस्रो वरियताका नेता माधवकुमार नेपालले सरकार र पार्टी सञ्चालनप्रति सार्वजनिक रूपमै असन्तोष प्रकट गर्न थालेपछि विवाद उत्पन्न भएको छ । त्यसलाई सचिवालय र स्थायी कमिटीको बैठकबाटै हल गर्ने नेकपाका नेताहरूले बताएका छन् ।