नेकपा विवाद उत्कर्षमा, प्रदेश कमिटी मनोनयमा मनपरी

title
मङ्लबार, मंसिर १८, २०७५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश कमिटिमा रहने सदस्यको नामावली सार्वजनिक गरे लगत्तै कलह सुरु भएको छ ।

सचिवालय बैठकले पारित गरेका नाम भन्दा फरक र वरिष्ठ भन्दा कनिष्ठलाई प्रदेश कमिटिमा मनोनीत गरिएको भन्दै नेकपाभित्रको विवाद अझ उग्र भएको हो ।

लामो विवाद र छलफल पछि नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश कमिटिको एकता टुंग्याएको जनाइरहँदा नामावली सार्वजनिक भए लगत्तै विवाद अझ चर्किएको छ ।

सचिवालय बैठकले पारित गरेका नाम भन्दा फरक नामहरु सार्वजनिक भएको भन्दै नेकपाभित्र विवादले उग्र रुप लिएको हो ।

मापदण्डलाई लत्याई गुटगत मानसिकताका साथ अघि बढिएको असन्तुष्ट नेताहरुको आरोप छ । प्रदेश कमिटि टुंग्याउंदा वरिष्ठता भन्दा गुटका आधारमा कनिष्ठलाई जिम्मेवारी दिइएको उनिहरु बताउछन ।

तर, पार्टी संस्थापन पक्ष भने धेरै नेताबाट सिमितलाई मात्र प्रदेश कमिटिमा समावेश गर्नुपर्ने बाध्यताका कारण पछिल्लो परिस्थिती विकसित भएको बताउछन ।

प्रदेश कमिटिमा नपरेका योग्य र वरिष्ठ नेताहरुलाई राष्ट्रिय प्रतिनिधि परिषद् र विभाग लगायतका महत्वपूर्ण जिम्मेवारी दिने गरी गृहकार्य भइरहेको संस्थापन पक्षका नेताहरुको भनाई छ ।

नेकपाको एक नम्बर प्रदेश कमिटि २०७ सदस्यीय बनेको छ । जसमा पूर्व एमालेबाट १२२ र पूर्व माओवादी केन्द्रबाट ८५ सदस्य छन् ।

त्यस्तै, प्रदेश नम्बर २ मा २१५ सदस्यीय बनेको छ । जसमा दुबै पार्टीका १०६ र अन्य दलबाट आएका ३ जनालाई समेटिएको छ ।

प्रदेश नम्बर ३ मा २१७ सदस्यीक प्रदेश कमिटि बनेको छ । जसमा पूर्व एमालेबाट ११६ र पूर्व माओवादीबाट १०१ सदस्य परेका छन् । गण्डकी प्रदेश १८७ सदस्यीय बनेको छ ।

जसमा पूर्व एमाले १०२ र पूर्व माओवादी ८५ जना अटाएका छन् । प्रदेश नम्बर ५ मा २०३ सदस्यीय कमिटि बनेको छ ।

जसमा पूर्व एमाले १०६ र पूर्व माओवादीबाट केन्द्र ९७ सदस्य छन् । कर्णाली प्रदेशमा १७५ नेकपा प्रदेश कमिटि गठन भएको छ ।

जसमा पूर्व एमाले ८७ र पूर्व माओवादी ८८ जना अटाएका छन् । र १८३ सदस्यीय सुदुर पश्चिम प्रदेश कमिटि गठन भएको छ ।

जसमा पूर्व एमाले १ सय र माओवादी केन्द्रबाट ८३ जना प्रदेश कमिटिमा परेका छन् । तर असन्तुष्ट पक्षलाई आश्वासअनुसार नसमेटिए नेकपाको विवाद भुसको आगो जस्तो बन्ने खतरा रहेको जानकारहरु बताउछन ।