नेताहरु पालैपालो विदेश भ्रमणमा, को कहाँ जाँदै ?

title
बिहिबार, अशोज ४, २०७५

काठमाडौं । संविधान दिवस मनाइएको छ । हतारमा कानुनहरु बनाइएका छन् । अनि नेताहरु चैँ फुर्सद मिलाएर धमाधम चाडवाडका बेला विदेश भ्रमणमा हिँडिरहेका छन्, हिँड्न तम्तयार भएर बसेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्र संघको ७३ औँ सभामा भाग लिन दलबलसहित अमेरिका जाँदैछन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन ६ दिने चीन भ्रमणमा छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल चीन भ्रमण गरेर फर्किएका छन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि चीन भ्रमणबाट फर्किएका छन् । सभामुख कृष्णबहादुर महरा चीन भ्रमणमै छन् ।

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालसहित १४ जनाको टोली चीन भ्रमणमै छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल दुई साता भ्रमणक्रममा युरोपमा छन् । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई एक महिनाका लागि अमेरिकामा छन् ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल घाना गएका छन् । संघीय समाजवादी फोरमका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव भारत भ्रमणबाट फर्किएका हुन् । सञ्चारमन्त्री गोकुल बाँस्कोटा इथियोपिया गएर फर्केका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चीन भ्रमणमा जाँदैछन् । मन्त्री लालबाबु राउत पनि चीन भ्रमणमा छन् ।