नेपालका ५३ वटा ग्याँस बुलेटले खाना पकाउने (एलपिजी) ग्याँस ढुवानी गर्ने नेपाल र भारतबीच सहमति

title
शुक्रबार, अशोज १२, २०७५

काठमाडौं । नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्याँस आयात गर्ने बिषयमा नेपाल र भारतबीच सहमति भएको छ ।

काठमाडौमा आज नेपाल र भारतका उच्च अधिकारीबीच दुई पक्षीय वार्तामा नेपालका ५३ वटा ग्याँस बुलेटले खाना पकाउने (एलपिजी) ग्याँस ढुवानी गर्ने सहमति भएको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र उहाँका भारतीय समकक्षी धर्मेन्द्र प्रधानबीच मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनासम्बन्धी वार्ता भएको थियो ।

मन्त्री यादवले निकट भविष्यमा नेपालका ग्याँस बुलेटले नै एलपिजी ग्याँस ढुवानी गर्ने दुई पक्षीय सहमति भएको जानकारी दिनुभयो । त्यस्तै मन्त्री प्रधानले मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाको काम दू्रत गतिमा भइरहेकामा नेपाल र भारतका अधिकारीले त्यसमा सन्तोष व्यक्त गरेका बताउनुभएको थियोे ।

बैठकमा दुवै देशका वाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालयका साथै नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनका उच्च अधिकारी सहभागी थिए । नेपाल र भारतबीच २०७२ साल भदौ ७ गते मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजना निर्माण गर्न मन्त्रिस्तरीय सम्झौता भएको थियो ।

त्यसको दुई वर्षपछि नेपाल र भारतका प्रधानमन्त्री क्रमशः केपी शर्मा ओली र नरेन्द्र मोदीले शिलान्यास गर्नुभएको थियो । काम शुरु भएको ३० महीनाभित्र पाइपलाइनको सम्पूर्ण काम पूरा गर्ने लक्ष्यका साथ ६८ दशमलव ९ किलोमिटर लामो पाइपलाइन निर्माणको काम दू्रतगतिमा भइरहेको छ ।