नेपालद्वारा ओमानसमक्ष २ सय २२ रनको लक्ष्य प्रस्तुत

title
बुधबार, भदौ १३, २०७५

काठमाडौं । मलेसियामा एसीसी एसिया कप छनोट खेलमा नेपालले ओमान समक्ष २ सय २२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले ओमानविरुद्ध टस हारेर पहिले व्याटिङको निम्तो पाएको थियो । निर्धारिकत ५० ओभरमा ९ विकेटको क्षतिमा नेपालले २ सय २१ रन बनायो । नेपालका लागि सागर पुनले सर्वाधिक ८३ रन बनाए । त्यस्तै, ६० बलको सामना गरेका ज्ञानेन्द्र मल्लले ४५ रन बनाए ।

अर्का खेलाडी आरिफ शेखले ३६ रन जोडे । खेलको अन्तिम समयतिर व्याटिङमा आएका करण केसीले ९ बलको सामना गर्दै २४ रन बनाउँदै नट आउट रहे । नेपाल, ओमानसँगै छनोटमा युईए, हङकङ, सिंगापुर र मलेसिया छन् ।

अर्को खेलमा हङकङ र मलेसियाबीचको खेल भइरहको छ भने यूएइ र सिंगापुरबीचको खेल पनि जारी छ । छनोटका सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टोलीले यसै महिनाको अन्त्यमा सुरु हुने एसिया कपका लागि स्थान बनाउनेछ । त्यस्तै छनोट हुने टोलीले समूह ‘ए’ मा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने मौका पाउनेछ ।

नेपाल र ओमानबीच अहिलेसम्म ६ पटक प्रतिस्पर्धा भइसकेको छ । जसमा दुवै टोलीले समान ३–३ खेल जितेका छन् । नामिबियामा भएको पछिल्लो भेट वल्र्ड क्रिकेट लिग डिभिजन २ मा नेपालले ओमानसँग ६ विकेटले पराजित भएको थियो ।