नेपालमा लगानी गर्न भारतीय निजी क्षेत्रलाई पुनः आह्वान

title
बिहिबार, जेष्ठ २, २०७६

काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानी गर्न भारतीय निजी क्षेत्रलाई पुनः आह्वान गर्नु भएको छ ।

अर्थमन्त्री खतिवडाले नेपालमा लगानीका लागि उपर्युक्त वातावरण बन्न गएको दावी गर्दै त्यो अवसर नगुमाउन पनि वैदेशिक लगानीकर्ताहरुको ध्यानाकर्षण गराउनु भयो । ‘नेपाल–भारत लगानी प्रदर्शनी तथा सम्मेलन’ को दोस्रो दिन आज(बिहिवार) काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको समृद्धिका लागि सरकारले वैदेशिक लगानी र प्रविधि भित्र्याउन जोड दिएको पनि स्पष्ट पार्नु भयो । अर्थमन्त्री खतिवडाले नेपालको आर्थिक विकासमा भारतीय युवा उद्यमीहरुको अनुभव उपयोगी हुने विश्वास पनि व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले दुई मुलुकबीचको व्यापार क्षेत्रको विस्तारका लागि सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गर्नु भयो । उहाँँले भारतको ब्रान्डेड बस्तुहरुको अनुभव लिएर नेपालले पनि ब्रान्डेड बस्तुहरु उत्पादनमा जोड दिन सक्ने पनि स्मरण गराउनु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय दुतावास र ईन्डियन फ्रेन्जाइज कम्पनीको संयुुक्त आयोजनामा आयोजना गरिएको सम्मेलनमा ६० वटा भन्दा बढि ब्रान्डेड कम्पनीका उद्यमीहरु सहभागी भएका छन ।