नेपालले चीनसँग मैत्रीपूर्ण फुटबल खेल्ने

title
बिहिबार, मंसिर ६, २०७५

काठमाडौं । राष्ट्रिय फुटबल टोलीलाई नियमित मैत्रीपूर्ण खेल खेलाउने नीतिअनुसार नेपालले जनवरीमा चीनको ग्वान्झाउ आर एन्ड एफ क्वबसँग खेल्न लागेको अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरले बताएका छन् ।

उनले अफगानिस्तानविरुद्ध खेल्ने योजना बनाइराखेको भए पनि प्राविधिक कारणले सम्भव नभएपछि नेपालमै आउँदो सेप्टेम्बरमा हुने तय भएको दक्षिण एसियाली खेलकुद (साग)का लागि टिमलाई तयारीमा राख्ने र राष्ट्रिय टिमलाई नियमित मैत्रीपूर्ण खेलाउने योजनाअनुसार ग्वान्झाउ आरएन्डएफसँगको खेल तय गरेको जानकारी दिए ।

उनले भने साग हुने–नहुने अझै टुंगो नभइसकेको अवस्था भए पनि टिमलाई तयार राखिरहनुपर्छ भनेर मैत्रीपूर्ण खेलको तयारी गरेको जानकारी दिए । सागमा २३ वर्ष मुनिको टोलीले सहभागिता जनाउने नियम छ । तर त्यो टिममा तीन जना उमेर नाँघेका खेलाडी पनि राख्न पाइन्छ ।

चीनिया सुपर लिगको क्लब ग्वान्झाओको प्रतियोगिता समितीका प्रमुख याङ की, व्यवस्थापक हुवाङ जुन र अनुसाशन समितिका लियाङ याजिङसहितको टोलीले मंगलबार एन्फा मुख्यालयको भ्रमण गरेका थिए । टोलीले भ्रमणका क्रममा एन्फा अध्यक्ष कर्मा्छिरिङ शेर्पासँग मैत्रीपूर्ण खेलबारे छलफल गरेका थिए ।