नेपाली महिला कामदार जो यसकारण पनि बिदामा स्वदेश फर्किन मान्दैनन्

title
मङ्लबार, साउन १५, २०७५

काठमाडाै । सरकारले श्रम सम्झौता नभएका खाडी मुलुकमा नेपाली महिलालाई घरेलु कामदारका रूपमा जान प्रतिबन्ध लगाएका कारण वर्षौँदेखि ती देशमा काम गरिरहेका महिलाले खाइपाइ आएको जागिर जाने डरका कारण बिदामा घर जान नसकेको बताएका छन्।

बिदा सकेर विदेश जाने बेलामा लिनुपर्ने श्रम स्वीकृति सरकारले नदिने भएपछि ‍स्वदेश फर्कनै छाडेको उनीहरू बताउँछन्।

सुरक्षाको दृष्टिकोणले घरेलु कामदारलाई श्रम स्वीकृति दिन प्रतिबन्ध लगाइएको र गन्तव्य मुलुकहरूसँग श्रम सम्झौता भएपछि मात्र यो हट्ने सरकारको भनाइ छ।

श्रम सम्झौता भएका मुलुकमा मात्र महिलालाई घरेलु कामदारका रूपमा पठाउने भनी सरकारले घोषणा गरेको पनि केही वर्ष बितिसक्यो।

अफ्ट्यारो
तर उक्त नियम लागु हुनुभन्दा पहिल्यैदेखि नै ती मुलुकमा घरेलु कामदारका रूपमा काम गरिरहेका महिलाहरू अप्ठयारोमा परेको ओमानमा काम गरिरहेकी सपना घलेको अनुभव छ।

उनले भनिन्, “म ओमानमा बसेर काम गरेको धेरै वर्ष भइसक्यो। ६ वर्षअघि म बिदामा घर गएर आएकी थिएँ। नयाँ नियम आएको थाहा पाएपछि घर जाने आँट गर्न सकेको छुइनँ।”

“छोरीहरू भेट्न मन त लाग्छ नि। तर मभन्दा धेरै अप्ठयारोमा परेका दिदीबहिनीहरू छन्, जो आफ्नो परिवारको सदस्यको मृत्यु हुँदा पनि घर जान पाएका छैनन्।” श्रीमान्‌को मृत्युपछि दुई छोरी हुर्काउने जिम्मा आफ्नो काँधमा आएको घलेले बताइन्।

मासिक करिब २५० रियल अर्थात् ७ हजार ५ सय जति नेपाली रुपैयाँको जागिर पनि गुम्ने हो कि भन्ने डरले परिवार भेट्न नेपाल आउने जोखम लिन नसकेको घलेको भनाइ छ।

कतार, कुवेत, ओमान, बहराइन लगायतका खाडी मुलुकमा रहेका महिलाहरूले स्वेदश आएर फर्कन पाउने व्यवस्था मिलाउन सम्बन्धित दूतावासमा पहल गरेको बताएका छन्।

सुनुवाइ
ओमानमा बस्दै आएका नेपाली महिलाको नेतृत्व गरिरहेको एक समूहकी अगुवा उमा आचार्य ढुङ्गानाले भनिन्, “नयाँलाई आउने अनुमति नदिए पनि पुरानाको श्रम स्वीकृति नवीकरण हुनुपर्छ भन्दै हामीले दूतावासमा पत्र बुझाए पनि सुनुवाइ भएको छैन।”

कतिपय नेपाली महिला २० वर्षदेखि घरेलु कामदारका रूपमा त्यहाँ बसेको पाइएको भन्दै ढुङ्गाना प्रश्न गर्छिन्, “नराम्रो व्यवहार भएको भए कोही किन त्यति धेरै समय एउटै घरमा बस्थे र?”

किन घटे कतार जाने नेपाली कामदार

खाडीमा घरेलु कामदारमाथि चरम आर्थिक शोषण हुने गरेको, उनीहरूमाथि अमानवीय व्यवहार गरिएको र कतिपयमाथि यौनहिंसा समेत भएको भेटिएको भन्दै सरकारले यस प्रकारको कामका लागि ती मुलुक जान निषेध गरेको थियो।

उक्त समस्याको समाधान गर्न सरकारले संरक्षणवादी दृष्टिकोण लिएको भन्दै अधिकारकर्मीहरूले यसको विरोध गर्दै आएका छन्।

सम्भावित जोखिम न्यूनीकरण गर्न खोज्दा सुरक्षित स्थानमा काम गरेर जीविकोपार्जन गरिरहेका महिलामाथि अन्याय भएको बुझाइ वैदेशिक रोजगारको क्षेत्रमा लामो समयदेखि काम गरिरहेकी एक जानकार विजया राई श्रेष्ठको छ।

“त्यति धेरै घरेलु कामदारमध्ये केही समस्यामा परे भन्दैमा सबैलाई काम गर्न जान रोक्नु राम्रो काम होइन। प्रतिबन्धले काम गरी खान खोजिरहेका धेरै महिलालाई समस्यामा पारेको छ।”

“राम्रै काम गरेर वर्षौँ त्यहीँ बसेर आउँदै जाँदै गरेका महिलाहरू पनि स्वदेश आउन डराउनु भनेको राम्रो कुरा पक्कै होइन।”

सम्झौता
सरकारले सम्झौता गरेपछि मात्र महिलाहरूलाई घरेलु कामदारका लागि पठाउने भन्दै आएको छ।

तर ती देशसँग सम्झौता हालसम्म पनि द्विपक्षीय सम्झौता हुन नसकेका कारण महिलाहरू रोजगारीका नाममा ठगिने गरेको वैदेशिक रोजगारीमा अवैध रूपमा गएका महिलाको उद्धार र पुनर्स्थापनामा संलग्न मञ्जु गुरुङ बताउँछिन्।

“प्रतिबन्ध समस्याको समाधान होइन। बरू सक्दो चाँडो गन्तव्य मुलुक भनी चिनिएका देशहरूसँग घरेलु कामदार सुहाउँदो सम्झौता गर्नुपर्‍यो। त्यसो नहुञ्जेल महिलाहरू दलालको प्रलोभनमा परी चोर बाटोबाट जाने खतरा रहिरहन्छ।”

गत साता मात्रै इराक र कुवेतमा काम खोजिदिने प्रलोभनमा पारी भारत पुर्‍याइएका १६ जना महिलाको उद्धार गरिएको थियो।

सरकारले भने प्रतिबन्ध लगाइएका मुलुकसँग श्रम सम्झौता गर्न प्रयास भइरहेको जनाएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट भन्छन्, “अघिल्लो सरकारले नेपाली महिला कामदारको सुरक्षाका कारण यस्तो निर्णय लिएको थियो। कतार, ओमान लगायतका देशसँग श्रम सम्झौता गर्ने प्रक्रियामा छौँ ताकि सबैले सुरक्षित महसुस गर्न सकून्।”

घरेलु कामदारको माग भएका र सुरक्षित छन् भन्ने पुष्टि भएका नयाँ गन्तव्य मुलुकुहरूसँग पनि सम्झौता गर्न सरकारले पहल गर्नुपर्ने कतिपयको भनाइ छ। बीबीसीबाट