नेपाली महिला टोलीको अबको लक्ष्य साफ च्याम्पियनसिप

title
शुक्रबार, कार्तिक ३०, २०७५

काठमाडौं । काठाडौं सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिक अन्तरगतको एसिया क्षेत्रको प्रारम्भिक छनोट चरण पार गरेको नेपाली महिला राष्ट्रिय फुटबल टोली बिहिबार स्वदेश फर्किएको छ ।

नेपाली महिला टोली बिहिबार मालिन्डो एयरलाइन्सबाट दिउसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष पिताम्बर तिम्सिना लगायत एन्फाका पदाधिकारीले खादा र फुलमाला लगाएर स्वागत गरेका थिए ।

छनोटको समूह ‘सी’ मा रहेको नेपाल समूहमा अपराजित रह्यो । नेपालले भारत, म्यानमार र बंगलादेशसँग समान १–१ गोलको बराबरी खेलेको थियो । नेपाल उत्कृष्ट तेस्रो टोलीको रुपमा दोस्रो चरणमा प्रवेश गर्न सफल भएको थियो । यो समूहबाट म्यानमार समूह विजेता तथा भारत समूह उपविजेताको रुपमा दोस्रो चरणमा प्रवेश गर्न सफल भयो । नेपाली टोलीले चीनमा प्रशिक्षणका साथै तीन मैत्रीपूर्ण खेल खेल्दै म्यानमार प्रस्थान गरेको थियो ।

दोस्रो चरणमा प्रवेश गर्नु नै नेपाली टोलीका लागि यो ऐतिहासिक सफलता हो । स्वदेश फर्किएपछि नेपाली टिमका प्रशिक्षक हरि खड्काले चीनमा गरेको तयारी गर्दा छनोट प्रतियोगितामा सोचेअनुरुप खेल्न सकेको बताए । ‘हामीले चीनमा तयारी गरेका थियौं । तीन वटा मैत्रीपूर्ण खेल खेल्यौ,’ खड्काले भने, ‘त्यसले गर्दा छनोट प्रतियोगितामा धेरै नै मद्दत गरेको जस्तो लाग्छ । यसका लागि एन्फालाई धन्यवाद दिन चाहन्छौं । मैत्रीपूर्ण खेल खेल्दा कमीकमजोरी केलाएर योजना बनाउन पायौं ।’

यअघि भारतसँग खेल्दा मानसिक रुपमा कमजोर मानसिकता हुने गरेको र अहिले त्यो हटाउन सकेकाले अहिले भारतलाई बराबरीमा रोक्न सफल भएको खड्काले बताए । उनले भने, ‘भारतसँग मानसिक रुपमा कमजोर हुने गरेका थियौं । तर हामीले पहिलो खेलमा त्यो मानसिकतालाई चिर्न सफल भयौं । भारतीय खेलाडी शारिरीक रुपमा बलियो भएपनि हामी प्राविधिक रुपमा अब्बल रह्यौं । हाम्रो आत्मबल समेत बलियो बन्यो ।’

उनले म्यानमारविरुद्ध पनि आफ्नो रणनीति सफल भएको बताए । ’म्यानमारका मुख्य खेलाडीको कमजोरी पत्ता लगाएपछि हामीले योजना बनाएका थियौं । त्यसमा सफल भयौं । योजनाअनुसार खेलेकाले सबै श्रेय खेलाडीलाई जान्छ । उनीहरुले मिहिनेत गरेर जितको भावनाले खेलेकाले सफल भयौं,’ खड्काले बताए । बंगलादेशसँग ३ अंकका लागि खेलेका बताउँदै खड्काले डिफेन्समा केही असमझदारी हँुदा गोल खाएको प्रतिक्रिया दिए ।

आगामी डिसेम्बरमा नेपालमा हुने तय भएको महिला साफ च्याम्पियनसिपका लागि लक्षित भएर तयारी थाल्ने खड्काले बताए । ‘भारतविरुद्ध पहिले गोल गर्न सफल भयौं । केही अवसर पनि सिर्जन गरेका थियौ । जसले गर्दा नेपालको आत्मविश्वास बढेको छ ।

यही स्तरलाई कायम राखे साफ च्याम्पियनसिपमा राम्रो नतिजा आउनेछ,’ उनले थपे ,‘राम्रा टिमसँग मैत्रीपूर्ण खेल्न पाए सहज हुनेछ ।’ यस्तै नेपाली टिमकी कप्तान निरु थापाले नेपालको स्तर बढेकाले भारतसँग राम्रो खेल्न सकेको बताइन् । उनले टिम वर्क र सबै स्थानबाट साथ–समर्नथ पाएकाले नेपालले दोस्रो चरणमा स्थान बनाउन सफल भएको प्रतिक्रिया दिइन् । साफ च्याम्पपियनसिपका लागि नियमित प्रशिक्षण गरेर कमजोरी सुधार गर्नु पर्ने उनको भनाइ थियो ।

बिहीबार स्वदेश फर्किएका नेपाली टोलीमा २२ खेलाडी, दुई प्रशिक्षक र दुई अफिसियल थिए । प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला हीराचन थकाली रहेका छन् ।