जोडिनुहोस
  • होमपेज
  • नेपाल प्रहरीको टोली दिल्लीबाट पुग्यो ओडिसास्थित केआईआईटी विश्वविद्यालय

नेपाल प्रहरीको टोली दिल्लीबाट पुग्यो ओडिसास्थित केआईआईटी विश्वविद्यालय

काठमाडौं। भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि उत्पन्न जटिल परिस्थितबारे बुझ्न नेपाल प्रहरीको टोली त्यसतर्फ गएको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीको दुई जनाको टोली ओडिसातर्फ पठाइएको जानकारी मंगलबार दिएकी छन् ।

‘नेपाली विद्यार्थीको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई हामीले निरन्तर रुपमा फलो अप गरिरहेका छौँ’, उनले भनेकी छन्, ‘नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकारी मंगलबार बिहानै विश्वविद्यालय पुग्नुभएको छ ।’

उनले प्रहरी अधिकारिसँग फोनमा कुरा गरेर घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न भनेको पनि बताएकी छन् ।

राणाले नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न पनि नेपाली प्रहरी अधिकारीलाई भनेको बताएकी छन् ।

‘यस विषयमा नेपाली दूतावास दिल्लीले आवश्यक पहल गरिरहेकै छ । हिजोको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपिल गरिसकेको छ’, उनले भनेकी छन्, ‘नेपाली विद्यार्थीलाई दुव्र्यवहार गर्ने कर्मचारीलाई कारबाही गरिसकिएको जानकारी पनि विश्वविद्यालयले सार्वजनिक सूचनामार्फत् गराएको छ ।’

उनले यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर समन्वयसहित काम गरिरहेका पनि बताएकी छन् ।

यस प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नै चासो राखेर नेपाली दूतावासलाई आवश्यक पहलका लागि भनिसकेको जनाएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका