‘नेपाल भ्रमण वर्ष, २०२०’ लाई सफल बनाउन प्रधानमन्त्री ओलीको आह्वान

title
बुधबार, चैत्र २७, २०७५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल भ्रमण वर्ष, २०२०’ लाई सफल बनाउन सक्दो सहयोग गर्न सम्बन्धित सबै निकायलाई आह्वान गर्नु भएको छ । प्रधानमन्त्री ओलीले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजित नेपाल भ्रमण वर्ष, २०२० मूल आयोजक समितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै पर्यटन क्षेत्रबाट मुलुकको आय दोब्बर बनाउने गरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सरोकारवाला सबै निकायलाई आग्रह गर्नु भएको हो ।

त्यसैगरी प्रधानमन्त्री ओलीले सो नेपाल भ्रमण वर्ष सम्पन्न हुँदा १० लाख नेपालीलाई पर्यटन क्षेत्रको विकास गरेर रोजगारी दिने अवस्था बनाउनु पर्नेमा पनि सबैलाई सचेत गराउनु भएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिनु भयो । उहाँले सो भ्रमण वर्षलाई सफल बनाउन बैठकले आवश्यक निर्णय पनि गरेको बताउनु भयो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको समेत जिम्मेवारी लिनु भएका प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आ–आफ्नो क्षेत्रको गन्तव्य स्थलहरुको पहिचान गरी उचित व्यवस्थापन गर्न प्रदेश तथा स्थानीय सरकारहरुको पनि ध्यानाकर्षण गराउनु भयो । बैठकमा प्रदेश र स्थानीय तहको गतन्व्यहरुको पनि पहिचान गरी सो भ्रमण वर्षलाई सफल बनाउने विषयमा केन्द्रित भएर छलफल गरिएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिनु भयो ।

बैठकमा गैर आवासीय नेपाली संघ(एनआरएनए)ले नेपाल भ्रमण वर्ष, २०२० लाई सफल बनाउन नेपालको गन्तव्य स्थलहरुको पहिचान गरी त्यसलाई विभिन्न १० भाषामा प्रकाशित गरी विश्वभर प्रचार गर्ने प्रतिवद्धता जनाएको थियो । सो नेपाल भ्रमण वर्षलाई सफल बनाउन नेपालको गन्तव्य स्थलहरुको विश्वभर प्रचार–प्रसार गर्ने लगायतका कार्यक्रम संचालन गर्न लागिएको बारे प्रधानमन्त्रीलाई जानकारी गराइएको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिनु भयो । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाउने तयारी गरेको छ ।