नेपाल महिला संघले माग्यो गृहमन्त्रीको राजीनामा

title
आइतवार, मंसिर २३, २०७५

काठमाडौ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै नेपाल महिला संघले गृहमन्त्री राम बहादुर थापाको राजिनामा माग गरेको छ ।

संघले आईतवार काठमाडौमा पत्रकार सम्मेलन गर्दै निर्मलाको हत्यारा पत्ता लगाउन वर्तमान सरकार असफल भएको आरोप लगाएको छ । पत्रकार सम्मेलनमा संघकी महासचिव तथा राष्ट्रियसभाकी सदस्य धना खतिवडाले नक्कली अभियुक्त खडा गरेर निर्मला पन्तका बास्तविक हत्यारालाई सरकारले उन्मुक्ति दिन खोजेको आरोप लगाउनुभयो ।

महिला हिंसाविरुद्ध १६ दिने राष्ट्रिय अभियान जारी रहेको बताउँदै खतिवडाले राज्यले महिलालाई अधिकार दिएको भए पनि व्यवहारमा महिलाहरुले अधिकार नपाएको धारणा राख्नुभयो ।