नेपाल र बङ्गलादेशबीच दोहोरो कर मुक्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर

title
मङ्लबार, फाल्गुन २१, २०७५

काठमाडौं । नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता भएको छ । आज अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा एक कार्यक्रमका बीच राजस्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजस्व सचिव मसर्फ हुसैनले दुई मुलुकबीच दोहोरो कर उन्मुक्तिसम्बन्धि सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।

दुवै देशको मन्त्रीपरिषद बैठकले पारित गरेपछि दोहोरो कर उन्मुक्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर गरिएको हो । कार्यक्रममा नेपालका लागि बंगलादेशकी राजदुत मास्फी बिन्ते साम्सको पनि उपस्थिति रहेको थियो ।

यो सम्झौतापछि रोजगारी तथा व्यापारका लागि एक देशको नागरिकले अर्को देशमा बसेर आर्जन गरेको सम्पत्ति सोही देशमा मात्रै कर तिर्दा हुने व्यवस्था गरिएको छ ।

एउटा देशमा मात्रै कर तिर्ने व्यवस्था गरे लगानीकर्तालाई उचित वातावरा हुने भएपछि दुवै मुलुकले दोहोरो कर तिर्न नपर्ने गरी सम्झौता गरेका हुन ।

यसबाट दुवै मुलुकलाई फाईदा पुग्ने राजस्व सचिव घिमिरले बताउनु भयो । उहाँले दुवै मुलुकबाट लगानीका लागि वातावरण बनाउन पनि सम्झौताले सघाउ पु¥याउने विश्वास पनि व्यक्त गर्नु भयो ।

पछिल्लो समय बंगलादेशबाट पनि नेपालमा लगानी गर्न चाहाने कम्पनीहरु भित्रिएका छन । लगानी लिएर आउने यस्ता कम्पनीहरुलाई यो सम्झौताले आत्मबल बढाउने सरकारको अपेक्षा छ ।

बंगलादेशसँग दोहोरो कर उन्मुक्ति सम्बन्धि सम्झौता गर्ने तयारी सरकारले २०७१ सालमै गरेको थियो । नेपालले यो सम्झौता भारत, चीन, नर्वे, श्रीलंका, पाकिस्तान, दक्षिण कोरिया, थाईल्याण्डमा यस अघि नै गरिसकेको छ ।

जापान, अमेरिका, सिंगापुर लगायतका मुलुकमा पनि यो सम्बन्धि दुई पक्षीय सम्झौता गर्ने विषयमा छलफल भईरहेको राजस्व सचिव घिमिरेले बताउनु भयो ।