नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

title
आइतवार, भदौ २४, २०७५

काठमाडौं । बंगलादेशमा जारी सुजुकी साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आयोजक बंगलादेशलाई पराजित गरेको नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूहचरणको तेस्रो तथा अन्तिम खेलमा आयोजक बंगलादेशविरुद्ध २–० को गोल अन्तरले नेपाल विजयी बन्यो ।

नेपालको जितमा विमल घीर्तिमगरले पहिलो हाफको ३३ औं मिनेटमा पहिलो गोल गर्दै १–० को अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको अन्तिम तथा ८८ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपालको जित सुनिश्चित गराए । बंगलादेशविरुद्धको जितसँगै नेपाल समूह विजेताको रुपमा सेमिफाइनल यात्रा तय गरेको हो । नेपालले अब सेमिफइालनलमा समूह बी को उपविजतासँग खेल्नेछ । सेमिफाइलन पुग्ने पहिलो लक्ष्यसहित बंगलादेश पुगेको नेपाली टोलीले पहिलो लक्ष्य पूरा गरेसँगै अब उपाधि जित्ने लक्ष्यमा छ ।

समूह ‘ए’मा रहेका टोलीबीचको भिडन्त निकै रोचक बनेको थियो । पाकिस्तान, नेपाल र बंगलादेशको समान ६ अंक भए पनि गोल अन्तरका आधारमा समूह ‘ए’बाट नेपाल र पाकिस्तान अघिल्लो चरणमा प्रवेश गरेका छन् । पहिलो खेलमा पाकिस्तानसँग पराजय व्यहोरेको नेपालले दोस्रो खेलमा भुटानविरुद्ध शानदार जित हात पारेको थियो । पहिलो खेलमा पाकिस्तानसँग इन्जुरी समयमा अन्तिम ३० सेकण्ड सम्हालिन नसक्दा महत्वपूर्ण ३ अंक गुमाउन पुगेको थियो भने विहीबार भएको भुटानविरुद्धको खेलमा नेपालले ४–० को शानदार जित हात पारेको थियो । भुटानविरुद्धको शानदार जितले नै नेपालको अघिल्लो चरणको यात्रा सम्भव भएको हो ।

लगातार दुई खेल जितेको बंगलादेशका लागि शनिबार नेपाल विरुद्धको खेलमा बराबरी खेलेपनि अघिल्लो चरणमा पुग्ने सम्भावना थियो । नेपाललाई भने अघिल्लो चरण प्रवेशका लागि जित्नैपर्ने दबाब थियो । सोही बमोजिम मैदानमा उत्रिएको नेपाली टोली बंगलादेशलाई उसैको मैदानमा हराउन सफल भयो । शनिबार भएको खेलमा नेपाललका लागि विमल घर्ती मगरले उत्कृष्ट गोल गरे । शुरुवातीबाटैै नेपाल निकै नै आक्रामक रुपमा मैदानमा उत्रिएको थियो । पहिलो हाफमा १–० ले अघि रहेको नेपाल दोस्रो हाफमा फरक रणनीतिसहित मैदानमा उत्रिएको थियो । दोस्रो हाफमा नेपाली टोली रक्षात्मक बन्दा बंगालदेशको टोली आक्रामक बन्यो । बंगलादेशले गरेका प्रहार नेपाली टोलीका किपर किरण चेम्जोङले एकपछि अर्को उत्कृष्ट बचाउ गरेका थिए ।

शनिबार नेपालले अघिल्लो खेलमा भन्दा २ खेलाडी परिवर्तन गरेको थियो । विशाल राई र अन्जन विष्टको सट्टा भरत खवास र नीराजन खड्कालाई प्रशिक्षक बालगोपाल महर्जनले पहिलो रोजाइमा राखेका थिए । जितसँगै नेपाली टोलीका कप्तान महर्जनले नेपाली टोलीमा थप उत्साह मिलेको बताए । उनले अहिले खेलाडीहरु लयमा रहका कारण आगामी खेलमा पनि उत्कृष्ट प्रदर्शन रहने दाबी गरे । पहिलो खेलमा पाकिस्तानविरुद्ध डिफेन्स कमजोर रहँदा अन्तिम समयमा आफूहरु चुकेको स्वीकार्दै त्यसपछि रणनीति परिवर्तन गर्दा नतिजा सकारात्मक निस्किएको बताए ।

यसपटक उपाधि जित्ने लक्ष्यका साथ बङ्गलादेश पुगेको नेपाली टोली अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सकेको छैन । यसअघिका प्रतियोगितामा नेपाल चार पटक सेमिफाइनलमा पुगेको छ । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का गरी सात राष्ट्रको सहभागिता रहेको छ । नेपालसहित बङ्गलादेश, पाकिस्तान र भुटान समूह ‘ए’मा छन् । त्यस्तै भारत, माल्दिभ्स र श्रीलङ्का समूह ‘बी’ मा छन् । च्याम्पियनसिपमा समूहको शीर्ष दुई टोलीले अन्तिम चार भित्र स्थान बनाउनेछन् । नेपाली टोलीमा गोलकिपर किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपाने, डिफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द्र र सुमन अर्याल, मिडफिल्डमा हेमन्त थापामगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ र नीराजन खड्का तथा फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन् ।

पाकिस्ता पनि सेमिमा
यसैबीच, समूह चरणको दोस्रो अन्तिम खेलमा जित हात पार्दै पाकिस्तानले पनि सेमिफाइनलको यात्रा तय गरेको छ । भुटानलाई ३–० ले हराउँदै पाकिस्तान सेमिफाइनल प्रवेश गरेको हो । समूहका समूहका तीनै खेल हारेपछि भुटान प्रतियोगिताबाट बाहिरिएको छ ।

ढाकास्थित बंगबन्धु नेसनल स्टेडियममा शनिबार खेलको २१ औं मिनेटमा मोहम्मद रिजाले पेनाल्टी बक्स भित्रबाट गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाएका हुन् । २९ औं मिनेटमा हसान बसिरले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । उनले मोहमद अलीको पासमा उत्कृष्ट फिनिस गरे । ५ मिनेट इन्जुरी समयको इन्जुरी समयको पहिलो मिनेट अहमद फहिमले तेस्रागोल गरेका थिए । पाकिस्तानले पहिलो खेलमा नेपाललाई २–१ ले हराएको थियो भने बंगलादेशसँगको खेल १–० ले गुमाएको थियो । भुटान नेपालसँग ४–० र बंगलादेशसँग २–० ले पराजित भएको थियो ।