जोडिनुहोस
मङ्लबार, फाल्गुन २०, २०८१
मङ्लबार, फाल्गुन २०, २०८१
  • होमपेज
  • पर्यटकमैत्री व्यवहार गर्न कर्मचारीलाई गृहमन्त्रीको आग्रह

पर्यटकमैत्री व्यवहार गर्न कर्मचारीलाई गृहमन्त्रीको आग्रह

भैरहवा– रुपन्देहीको बेलहियामा अध्यागमन कार्यालय आफ्नै सुविधायुक्त भवनमा सञ्चालनमा आएको छ । मंगलबार एक कार्यक्रमका बीच गृहमन्त्री रमेश लेखकले उक्त भवनको समुद्घाटन गरेका छन् ।

भवनको उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले नाकामा बनेका पूर्वाधारहरुले रुपन्देहीको बेलहिया नाकालाई मुलुककै ठूलो नाकाका रूपमा स्थापित गरेको बताए । मुलुकका सीमा क्षेत्रमा १३ वटा अध्यागमन कार्यालय रहेको र ती कार्यालयले पर्यटकलाई सहज बनाएको जनाउँदै उनले सेवाप्रवाह चुस्त हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘पछिल्ला दिनमा सबै ठाउँँबाट पर्यटक आगमन राम्रो छ । यो ठाउँ बुद्ध जन्मभूमि भएकाले धार्मिक पर्यटकको सम्भावना छ । हामीले पर्यटनमैत्री वातावरण बनाइरहेका छौं, पर्यटक आगमनलाई व्यवस्थित गरिरहेका छौं । हाम्रो लक्ष्य पर्यटक आगमन वृद्धि गर्ने हो । पर्यटक बढ्दा यसले मुलुकलाई आर्थिक रूपमा समृद्धि बनाउँछ’ ।

गृहमन्त्री लेखकले अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरूले पर्यटक र आम सेवाग्राहीलाई नम्र, सरल र मिठासपूर्ण व्यवहार गर्नुपर्ने बताएका बताए । उनले कर्मचारीहरूको व्यवहारले मुलुकको अवस्था बताउने भन्दै सचेत भएर राम्रो सौहार्दपूर्ण तरिकाले सेवा दिन आग्रह गरे ।

उनले कार्यालयहरूमा हुने व्यवहारबाट जनताले सुख पाए २० जनालाई राम्रो भन्ने तर एक जनाले पनि दुःख पाए त्यसले धेरैलाई नराम्रो प्रभाव पार्न सक्ने जनाए ।

पछिल्लो समय मुलुकको अर्थतन्त्रमा राम्रा संकेतहरु देखा परेको उनको दाबी छ । उनले सरकारका कामको निजी क्षेत्रबाट प्रशंसा भएको समेत जनाए ।

भ्याटसहित १० करोड २५ लाख लागतमा कार्यालय भवन निर्माण गरिएको हो । भगवती गौरीशंकर जेवीले निर्माण गरेको उक्त भवन बेसमेन्टसहित ६ तल्लाको छ । अपांगमैत्री र भूकम्प प्रतिरोधी रहेको यो कार्यालय भवनमा अग्नि नियन्त्रण उपकरण जडित छ ।

यहाँबाट विदेशी नागरिकलाई आगमन, प्रगामन, पर्यटक भिसा जारी र नवीकरण गर्ने, एनआरएन भिसा जारी र नवीकरण लगायतका काम हुँदै आएका छन् ।

धेरै टिप्पणी गरिएका