पहिलो भिडन्तबाट यसकारण पछि हट्यो ‘सुश्री सम्पत्ति’

title
सोमवार, साउन २८, २०७५

काठमाडौं । चलचित्र सुश्री सम्पत्ति युनिटले आफ्नो चलचित्रको प्रदर्शन मिति पछि सारेको छ । यसअघि भदौ २२ बाट प्रदर्शनमा आउने घोषणा गरिएको भए पनि यो मितिमा दुई बीग बजेटका दुई चलचित्र रामकहानी र रोजीको भिडन्त हुने भएपछि सुश्री सम्पती टोलीले आफ्नो प्रदर्शनलाई पछि सारेको हो ।

त्यसो त नेपाली चलचित्रमा तीन चार वटा चलचित्र एकै मितिमा प्रदर्शनमा आउनु नौलो घटना भने होइन । यस अघि पनि चार–पाँच वटा चलचित्र एकै मितिमा प्रदर्शनमा आएका थिए । यसरी प्रदर्शनमा आउँदा चलचित्र निर्मातालाई मात्र नभएर अभिनेता र अभिनेत्रीलाई पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा असर परेको सर्वविदितै छ ।

यही कुरालाई सुश्री सम्पत्ति टीमले राम्रैसँग बुझेको हुनुपर्छ सायद । सञ्चारकर्मी तथा निर्माता सुव्रत आचार्यले पनि यो राम्ररी बुझेको हुनुपर्छ । त्यसो त निर्माता आचार्यले यसअघि आफूहरु कोही कसैसँग नडारउने, आफ्नो चलचित्र तोकिएकै मितिमा प्रदर्शनमा आउने बताएका थिए । तर, चलचित्रको प्रदर्शनमो मिति नजिकिँदै गएपछि सायद आफ्नो लगानी उठाउने सोच बनाएरै प्रदर्शन मिति पछि सारिएको हुनुपर्छ ।

चलचित्रको हुकुम बक्सियोस् बोलको सार्वजनिक गीतले चलचित्रको राम्रै चर्चा बटुलेको छ । चलचित्रमा अभिनेता सलोन बस्नेत र अभिनेत्री सारा सिर्पाली लगायतले चलचित्रमा अभिनय रहेको छ । भदौ २२ मा अभिनेत्री पूजा शर्माको ‘रामकहानी’ र अभिनेता प्रदीप खड्काको ‘रोजी’ भिडने भएपछि अब सलोन र साराको रोमान्स मंसिर २८ गते दर्शकले हेर्न पाउने भएका छन् । रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको यो फिल्म प्राविधिक कारणले पूर्वनिर्धारित मितिमा आउन नसकेको बताइएको छ ।

निर्देशक आचार्य भने ‘हामीले भाद्र २२ लाई वितरकसँगको सल्लाह अनुसार नै रिलिज मिति तय गरेका थियौं । तर केही प्राविधिक काम पनि पूरा नभएको र वितरकसँगको आपसी छलफलबाट हामीले नयाँ रिलिज डेट मंसिर २८ लाई तय गरेका छौं ।’ यसमा अभिनेता बिनोद न्यौपानेकोे पनि प्रमुख भूमिका छ । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’को कथा निर्देशक सुव्रत आफैंले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।

फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको उक्त फिल्ममा प्रियंका कार्की अतिथि भूमिकामा देखिनेछिन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ ।