पाँच लाखसहित १३ जुवाडे पक्राउ

title
सोमवार, मंसिर १७, २०७५

काठमाडौं । काठमाडौंको एक गेस्ट हाउसमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच लाख रुपैयाँसहित १३ जनालाई जुवाडेलाई पक्राउ गरेको छ।

जोरपाटीको नयाँबस्तीमा राम कार्कीले सञ्चालन गरेको पूर्वेली गेस्ट हाउसबाट १३ जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ५ लाख ३१ हजार रुपैयाँ समेत बरामद गरेको छ ।

बौद्धस्थित महानगरीय प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दसहित सादा पोसाकमा खटेको प्रहरी टोलीले १६ थान कौडासहित उनीहरूलाई पक्राउ गरेको हो । ठूलो समूहमा ठूलो रकमको साथ जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी उक्त गेस्ट हाउसमा छापा मारेको थियो ।

पक्राउ पर्नेमा गेष्ट हाउसका सञ्चालका ३६ वर्षीय राम कार्की, बारा स्थायी घर भई काठमाडौं बस्ने ४२ वर्षीय राजकुमार तिवारी, काभ्रे घर भई काठमाडौं बस्ने ३४ वर्षीय केशव नेपाल, उदयपुर घर भई काठमाडौं बस्ने ३० वर्षीय मानबहादुर मगर, सिन्धुपाल्चोक घर भई काठमाडौं बस्ने ३६ वर्षीय विशाल सुनार लगायत छन्।

पक्राउ परेको उनीहरूका विषमा अनुसन्धान भइरहेको तथा प्रचलित कानुनअनुसार मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ।