पाकिस्तानमा दुईवटा रेल एकआपसमा जुधेर दुर्घटना, कम्तीमा १० जनाको मृत्यु

title
बिहिबार, असार २६, २०७६

एजेन्सी । पाकिस्तानमा आज विहान दुईवटा रेल एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ६६ जनाभन्दा बढी घाइते भएका छन् । पाकिस्तानी रेल अधिकारीहरुका अनुसार पंजाब प्रान्तको रहिम यार खानमा दुईवटा रेल जुधेका थिए ।

प्रहरीका अनुसार लाहोरबाट आइरहेको यात्रुबाहक रेल र चौबाटोमा रोकिराखेको सामान ढुवानी गर्ने रेल एकआपसमा जुधेका थिए । स्थानीय प्रहरी अधिकृत ओमार सलामतले जनाए अनुसार दुर्घटनास्थलबाट कम्तीमा दश जनाको शव बाहिर निकालिएको र ६६ जनाभन्दा बढी घाइतेको उद्धार गरिएको जानकारी दिनुभएको छ ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।

पाकिस्तानी रेलमन्त्री शेख रसिद अहमदले घटनाको छानबिन गर्न अनुसन्धान टोली गठन गरिएको जानकारी दिएका छन । गत जुनमा पनि दक्षिणी सिन्ध प्रान्तमा दुई वटा रेल जुधेर तीन जनाको मृत्यु भएको थियो ।