
काठमाडौं। अस्ट्रेलियासँगको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तान ९ विकेटले विजयी भएको छ ।
अस्ट्रेलियाले दिएको १ सय ६४ रनको लक्ष्य पाकिस्तानले १ सय ४१ बलअघि नै मात्र १ विकेट गुमाएर भेटायो । पाकिस्तानका सइम अयुबले ८२ रन बनाए । एकदिवसीय क्रिकेटमा उनको यो पहिलो अर्धशतक हो । यस्तै अब्दुल्लाह शफिकले नटआउट ६४ रन बनाए । अस्ट्रेलियाका एडम जम्पाले १ विकेट लिए ।
यसअघि घरेलु मैदान एडिलेड ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलिया ३५ ओभरमा १ सय ६३ रन बनाउँदा अलआउट भयो । अस्ट्रेलियाका स्टेभेन स्मिथले सबैभन्दा धेरै ३५ रन बनाए । पाकिस्तानका हरिस रउफले ५ विकेट लिए ।
योसँगै तीन खेलको एकदिवसीय शृङ्खलामा १–१ को बराबरी भएको छ । पहिलो खेल अस्ट्रेलियाले २ विकेटले जितेको थियो । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल पर्सि आइतवार पर्थमा हुनेछ ।
यसपछि अस्ट्रेलिया र पाकिस्तानबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुनेछ ।