पार्टी र सरकारलाई कमजोर पार्न ठूलै कसरतः अध्यक्ष प्रचण्ड

title
आइतवार, कार्तिक ११, २०७५

चितवन । कृष्ण आचार्य । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता र सरकारलाई कमजोर पार्न देशभित्र र बाहिरबाट ठूलो कसरत भइरहेको बताएका छन् ।

नेकपा चितवनले आज भरतपुरमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकता प्रक्रिया तुहाउन कसरत गर्नेहरु फेरि सक्रिए भएको बताए ।

‘राजामहाराजाले दिएर आएको परिवर्तन होइन’ अध्यक्ष प्रचण्डले भने, ‘ हजारौंको बलिदान र लाखौंको त्यागले उपलब्धि संस्थागत भएको हो । ’ इमान्दारितापूर्वक दुई पार्टीले संकल्प गरेका कारण पार्टी एकीकरण सम्भव भएको उनले बताए ।

‘आगामी सफलता र असफलताको कारक हामी आफैं हो’ उनले भने, ‘आत्मकेन्द्रित संकीर्ण स्वार्थी भयौं भने हामीलाई हामी आफैंले सिध्याउँछौं ।’ उनले पार्टी एकीकरण तल्लो तहसम्म सम्पन्न गर्न अन्तिम तयारी भइरहेको भन्दै छिट्टै टुंगोमा पुग्ने दाबी गरे ।

सोही अवसरमा फरक प्रसंगमा प्रचण्डले सरकारले विकासको पूर्वाधार तयार पार्ने कुरामा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए । उनले दुई छिमेकी देशसँगको सम्बन्ध सुध्रिढ बनाएको भन्दै विकासको ठूलै क्रान्तिकारी परिवर्तन आउने ठोकुवा गरे । कार्यक्रममा बोल्दै पार्टी महासचिव विष्णु पौडेलले एकता पक्रियामा कुनै त्रुटि नहोस् भनेर सचेत बनेको बताए ।

उनले सबै नेता कार्यकर्ताको भावनालाई आत्मसाथ गर्दै एकता प्रक्रिया टुंग्याइने जीकिर गरे । कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपा नेता अमिक शेरचन, प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौंडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । चियापान कार्यक्रममा नेकपा नेता, कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।