
पाल्पा– पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ३ भुवनपोखरीको छचुवाका आगलागीपीडित घर, गोठ जलेपछि खुला आकाशमा रात काट्न बाध्य भएका छन् । यहाँको कुमाल बस्तीको ६ घरगोठ जलेर पूर्ण रूपमा नष्ट भएपछि उनीहरु खुला आकाशमा रात बिताउन बाध्य भएका हुन् ।
आगलागीबाट छचुवाका धनबहादुर कुमाल, पदमबहादुर कुमाल, द्वन्द्वबहादुर कुमाल, हुमबहादुर कुमाल, गोपाल कुमाल र रीता कुमालको घर जलेर नष्ट भएको रैनादेवी छहरा–३ का वडाध्यक्ष प्रदीप पौडेलले बताए ।
आगलागीबाट घरभित्रका अन्नपात, लुगाफाटा, केही नगदसहितका महत्त्वपूर्ण काजजात जलेर नष्ट भएपछि आगलागी प्रभावित परिवार पीडामा थिए । खाद्यान्न र त्रिपालको पर्खाइमा रहेका यहाँका पीडितपरिवारलाई गाउँपालिकाले राहत सामग्री वितरण गरेपछि केही सहज भएको छ ।
गाउँपालिकाले तत्कालका लागि एक–एक बोरा चामल, नुन, तेल, दाल, तरकारी तथा आवश्यक त्रिपाललगायत राहत सामग्री दिएपछि पीडितको अनुहारमा खुसी छाएको हो । गाउँपालिकाले घरमै पुगेर आवश्यक राहत सामग्री वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईसहितका जनप्रतिनिधि, कर्मचारीको टोलीले आगलागीपीडितको घरमा पुगेर राहत सामग्री वितरण गरे ।
अहिले तत्काल आवश्यक देखिएका सामानसहितको राहत प्रदान गरिएको उनको भनाइ छ । पछि प्रहरीको मुचुल्काअनुसार क्षतिका आधारमा पालिकाले घर निर्माणका लागि रकमसमेत उपलब्ध गराउने भट्टाईले बताए ।