पाल्पामा यसवर्ष ५ हजार म्याट्रिकटन बढी सुन्तला उत्पादन

title
शनिबार, पुस २८, २०७५

किरण कौसल/पाल्पा । पाल्पा जिल्लाका पश्चिमी भेगका किसानहरुलाई मुख्य स्रोत सुन्तला खेती बनेको छ ।

सुन्तला खेतीलाई हावापानी मिलेकाले छहरा मुझुङ्ग, पालुङ्गमैनादी, भैरवस्थान लगायतका गाउँका किसानहरुले आफ्ना बारीमा सुन्तला खेती गरेका छन् । पश्चिमी क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरेर सरकारी क्षेत्रबाट समेत अनुदान उपलब्ध भएपछि यो क्षेत्रका किसान उत्साहित भएका छन् ।

यस बर्ष मौसमले साथ दिएकाले गतवर्ष भन्दा ५० प्रतिशत उत्पादनमा समेत बृद्धि भएको छ । कृषि ज्ञान केन्द्रले जिल्लामा गतवर्ष २ हजार ५ सय म्याट्रिक टन उत्पादन भएकोमा यसवर्ष ५ हजार म्याट्रिकटन भन्दा बढी उत्पादन भएको अनुमान गरेको छ । एकपटक लागानी गरेपछि बषौं सम्म आम्दानी लिन सकिने सुन्तला खेतीबाट किसानले वार्षिक ५ लाख रुपैया सम्म आम्दानी गरेका छन् ।

पश्चिमी क्षेत्रका उत्पादित सुन्तला पाल्पासंगै बुटवल, पोखरा सम्मका बजारमा विक्री हुने गरेको छ । जिल्लाको तथ्याङ्क अनुसार ३ हजार रोपनी क्षेत्रफल भन्दा बढी रोपनीमा सुन्तला मौसम जुनारको व्यवसायीक रुपमा खेती भइरहेको छ ।