पिठ्यूँमा दाउराको भारी, तुइनको सवारी

title
आइतवार, माघ ६, २०७५

काठमाडौं । सरकारले मुलुकलाई तुइनमुक्त बनाउने घोषणा गरेको तीन वर्ष नाघिसक्दा पनि हुम्लाका वासिन्दाहरु अझै तुइनको भरमा कर्णाली वारपार गर्न बाध्य रहेका छन् ।

हुम्ला मात्र नभई कर्णाली बग्ने पहाडी भेगका सबैजसो जिल्लामा नदी वारपार गर्न तुइनको विकल्प छैन । ज्यानको बाजी लगाएर गह्रुँगो भारी बोक्दै तुइनमा झुण्डिएर यात्रा गर्नु यहाँको बाध्यता छ । विभिन्न ठाउँमा बनाइएका काठेपुल कर्णालीले बगाएपछि समस्या बढ्दै गएको तर समाधानको योजना अगाडि बढेको देखिँदैन ।

हुम्लाको खार्पुनाथ, सर्केगाड लगायतका ठाउँमा तुइनमै वारपार गर्नु र घाँसदाउराका भारी पनि तुइनमै झुण्डिएर तार्नुपर्ने बाध्यता रहिआएको छ । तर विभिन्न ठाउँमा पुल निर्माणका लागि सर्भे भइसकेको र पुल निर्माणका लागि मन्त्रालय र सांसदलाई गुहारिरहेको स्थानीय जनप्रतिनिधिहरु बताउँछन् । समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।