पीपीएल आजबाट, विराटनगर र पोखरा भिड्दै

title
शुक्रबार, कार्तिक ९, २०७५

काठमाडौं । पोखरामा शुक्रबारबाट पोखरा प्रिमियर लिग शुरु हुँदैछ । क्रिकेटको ट्रफी भने विहीबार सार्वजनिक गरिएको हो । पोखराको फेवाताल किनारमा आयोजित विशेष समारोहमा प्रतियोगितामा सहभागी सबै टोलीका मार्की खेलाडीले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् ।

गोलाकार प्लेटमा सुन र चाँदीको लेपन लगाइएको छ । करिव तीन लाख लागतमा यो ट्रफी काठमाडौंमा बनाइएको आयोजकले जनाएको छ । ट्रफी अनावरणसँगै छुट्टाछुट्टै डुंगामा सहभागी छ वटै टोलीका मार्की खेलाडीलाई राखेर टिमको झण्डासहित बाराही मन्दिर परिक्रमा गराइएको थियो ।

पोखरा प्रिमियर लिगमा सहभागी ६ टोलीको नाम नेपालका ६ शहरको नामबाट जुराइएको छ । बिराटनगर टाइटन्स, काठमाडौं रोयल्स, पोखरा पल्टन, चितवन राइनोज, बुटबल ब्लास्टर्स र धनगढी ब्लुजले प्रतियोगितामा सहभागिता जनाउँदैछन् । प्रतियोगिताको पहिलो दिन विराटनगर टाइटन्स र पोखरा पल्टन आमने सामने हुँदैछन् । पीच निर्माण, आउटफिल्ड, पेविलियन, शौचालय सबैको व्यवस्था भइसकेको छ भने पोखरा प्रिमियर लिगले पोखरा शहर नै क्रिकेटमय बनेको छ ।

टी–२० फम्र्याटमा हुुने पोखरा प्रिमियर लिग (पीपीएल) को मेडिकल पार्टनरको रुपमा ग्रान्डी इन्टरनेसनल अस्पताल रहेको छ । पीपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले समते मान्यता प्रदान गरिसकेको छ ।

यस्तै लिगमा सर्बोत्कृष्ट खेलाडीसँगै उत्कृष्ट ब्याट्सम्यान र बलरले पनि मोटरसाइकल पुरस्कार पाउनेछन् । नेपाली क्रिकेट इतिहासमै पहिलो पटक एकै प्रतियोगितामा तीन जना खेलाडीलाई मोटरसाइकल पुरस्कार दिन लागिएको हो । विजेताले सुजुकी जिक्सर मोटरसाइकल पुरस्कार पाउनेछन् ।

पोखरालाई क्रिकेटको न्युट्रल भेन्यू बनाउने र पोखराको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रतियोगितको आयोजना गरिएको आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए ।