पीपीएल क्रिकेटः उपाधिका लागि पोखरा र चितवन भिड्ने

title
सोमवार, कार्तिक १९, २०७५

काठमाडौं । पोखरामा जारी पोखरा प्रिमियर लिग अन्तर्गत पारसको कप्तानीमा रहेको चितवन राइनोज फाइनलमा प्रवेश गरेको छ । काठमाडौंलाई ६ विकेटले हराउँदै चितवनले पोखरा पल्टनसँगको भेट पक्का गरेको हो । पोखरा शुक्रबार नै समुहको शीर्षमा रहँदै फाइनल प्रवेश गरिसकेको थियो । फाइनल खेल मंगलबार हुनेछ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आइतबार भएको इलिमिनेटरमा खेलमा काठमाडौंले दिएको ९५ रनको सामान्य लक्ष्य चितवनले १८.२ ओभरमा ४ विकेट गुमाएर भेटाएको थियो । चितवनका लागि स्मिथ पटेलले ३८ रन जोडे । ४३ बल खेलेका उनले ३ चौका प्रहार गरे । यस्तै  हरिशंकर साहले २६ रन बनाए भने आरिफ सेखले नटआउट २० रन जोडे । त्यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौंले १९.३ ओभरमा सबै विकेट गुमाएर ९४ रनमात्रै जोड्न सकेको थियो ।

टस जितेर ब्याटिङ रोजेको काठमाडौंले करण केसीको पहिलो ओभरमै १५ रन जुटायो । करणको पहिलो बलमा जयकिशन कोल्सावालालाई कुनै रन दिएनन् । दोस्रो बलमा करणले वाइडसहित चार रन दिए । तेस्रो बलमा कोल्सावालाले एक रन दिदैँ अर्का ओपनर अमित श्रेष्ठलाई स्ट्राइक दिए । अमितले तेस्रो र चौथो बलमा लगातार चौका प्रहार गर्दै काठमाडौंलाई राम्रो सुरुवात दिए । दोस्रो ओभरमा चितवनले कमब्याक ग¥यो ।

सन्नी पटेलले दोस्रो ओभरमा २ रनमात्रै दिएर तीन विकेट लिएपछि खेलमा चितवन हावी देखियो । सन्नीले पहिलो बलमै अमित(९)लाई कट एण्ड बोल्ड पारे भने तेस्रो बलमा पवन सर्राफ(०)लाई एलबिडब्लुको धरापमा पारे । सन्नी त्यतिमै मात्र रोकिएनन् । अन्तिम बलमा काठमाडौंका विदेशी खेलाडी गौरव तमोरलाई एक रनमै पुनः एलबिडब्लुको सिकार बनाउँदै चितवनलाई खेलमा फर्काए । सन्नीले समग्रमा चार ओभरको स्पेलमा ९ रन लिदैँमात्रै दिएर तीन विकेट लिए । प्रतियोगितामा सन्नीले ९ विकेट लिइसकेका छन् । उनी म्यान अफ द सीरिजका दाबेदार समेत बनेका छन् ।

एकै ओभरमा तीन विकेट गुमाएपछि दबाबमा आएको काठमाडौंका लागि लगत्तै क्रिजमा आएका नरेश बुढाऐरले कोल्सावालासँग सम्हालिएर खेल्न नपाउँदै विकेट गुमाए । बुढाऐरलाई पाँचौ ओभरमा कप्तान पारस खड्काले एक रनमै एलबिडब्लुको सिकार बनाए ।

त्यसपछि कोल्सावालालाई साथ दिन काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल क्रिजमा आए। दुबैले पारीलाई अघि बढाउँदै १२ ओभरको समाप्तीमा ६३ रन जोडेका थिए । तर, १३औं ओभर लिएर आएका चितवनका स्मिथ पटेलले चौथो बलमा कोल्सावाला(२५)लाई आरिफ सेखको हातबाट क्याच गराउँदै दवैबीच चलेको ३८ रनको साझेदारी तोडेका थिए । स्मिथ त्यतिमा रोकिएनन् पन्ध्रौ ओभरमा पनि उनले आदिल खान(८)को विकेट लिन सफल भए । समग्रमा स्मिथले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए ।

चितवनका बाँकी विकेट भुवन कार्की र करण केसीले लिए । भुवनले सत्रौं ओभरमा दुई र करणले अन्तिम ओभरमा दुई विकेट लिदैँ काठमाडौंलाई पुरै २० ओभर समेत खेल्न दिएनन् । भुवनले सत्रौं ओभरको चौथो बलमा बसन्त रेग्मी(०)लाई विकेट किपर आकाश थापाको हातबाट स्पिटिङ गराए भने अन्तिम बलमा ज्ञानेन्द्र मल्ल(३०)लाई बोल्ड गर्दै चितवनलाई पूर्ण खेलमा हावी गराए । अन्तिम ओभरको दोस्रो बलमा करणले सुशान भारी(३)लाई पारस खड्काको हातबाट रनआउट गराए भने र चौथो बलमा अमरसिंह रौटेला(९)लाई पुनः पारसको हातबाट नै क्याच गराउँदै काठमाडौंको पारी ९४ रनमै समेट्न सफल भएका थिए ।

कात्तिक ९ देखि शुरु भएको प्रतियोगिता २० गतेसम्म  सञ्चालन हुनेछ । ६ टोलीको सहभागिता रहेको प्रतियोगिता विराटनगर टाइटन्स, चितवन राइनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टिमको सहभागिता रहेको छ ।