पीपीएल क्रिकेटको तयारी तीव्र

title
शुक्रबार, अशोज १२, २०७५

काठमाडौं । पोखरा रंगशालामा आयोजना हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिता तयारी तीव्र पारिएको छ । आयोजकले प्रतियोतिामा सहभागी टिम, मालिक र मार्की खेलाडीको घोषणा गरेको छ ।

बिहीबार क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रा.लिले सहभागी फ्रेन्चचाइज टिम र मार्की खेलाडीको घोषणा गरेको हो । पहिलो संस्करणको लिगमा ६ शहरका ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । पीपीएल कात्तिक ९ देखि २० सम्म सम्म पोखरा रंगशालामा आयोजना हुनेछ । यसपटक विराटनगर टाईटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर, एक्स्पर्ट धनगढी ब्लुज, चितवन राईनोज र काठमाडौं रोयल्स रहेका छन् । सबै टिमले विहीबार आफ्नो लोगो समेत सार्वजनिक गरेका छन् ।

विराटनगर टाईटन्सका मार्की खेलाडी सन्दीप लामिछाने र टिम मालिक पारस लुनिया रहेका छन् । चितवन राईनोजका मार्की खेलाडी पारस खड्का र टिम मालिक राहुल महरा रहेका छन् ।

त्यसैगरी पोखरा पल्टन टिम मालिक बिनायक पोखरेल छन् भने मार्की खेलाडी शरद भेषवाकर रहेका छन् । यता बुटवल ब्लास्टरका मार्की खेलाडी सोमपाल कामी रहेका छन् भने टिम मालिक नरेश गौतम हुन् । हुलास काठमाडौं रोयल्सको टिम मालिक राज्य लक्ष्मी गोल्छा रहँदा मार्की खेलाडी ज्ञानेन्द्र मल्ल रहेका छन् । एक्स्पर्ट धनगढी ब्लुजको मार्की खेलाडीको जिम्मा दिपेन्द्र सिंह ऐरीले पाउँदा टिम मालिक तोया नाथ अर्याल रहेका छन् ।

आयोजकले यस अघि नै असोज ३ गतेदेखि असोज ९ गतेसम्मको लागि खेलाडी दर्ता खुला गरेको थियो । खेलाडी छनोट अक्सन मार्फत हुनेछ । हरेक टिममा दुई स्थानीय र दुई विदेशी खेलाडी अनिवार्य हुनु पर्नेछ । पीपीएल घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको हुने आयोजकले दावी गरेको छ ।