पुनः पश्चिमी वायू सक्रिय, मौसम प्रतिकूल

title
शुक्रबार, फाल्गुन १०, २०७५

काठमाडौं – मौसममा फेरी फेरबदल हुने भएको छ । देशका पश्चिमी भू-भागमा केही वर्षा एवं उच्च भु-भागमा हिमपात समेत हुन सक्ने संम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका केही स्थानमा मौसम सामान्यदेखि आंशिक बदली हुनेछ । शनिवार भने पश्चिमी भू-भागका साथै मध्य र पुर्वी पहाडी क्षेत्रमा क्षणिक वर्षाको संभावना छ ।

अन्य स्थानको मौसम आंशिक बदल रहने महाशाखाको अनुमान छ । यस्तै पश्चिमी उच्च हिमाली भु -भागहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार देशको पश्चिमी र मध्य भु-भागमा सामान्य देखि पूर्ण बदली हुने र पुर्वी भु-भागमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको अनुमान गरेको छ । साथै देशका उच्च हिमाली भु-भागहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायूको प्रभावका कारण मध्य तथा पश्चिम नेपालमा वर्षा हुनेछ । यो हिउँदे वर्षा भएका कारण धेरै जोखिम नहुने महाशाखाले जनाएको छ । चट्याङ पनि पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।