पूजा १५ लाखमा अनुबन्धित

title
बुधबार, कार्तिक २८, २०७५

काठमाडौं । नायिका पूजा शर्मालाई अब दर्शकले ‘सम्हालिन्छ कहिले मन’मा देख्न पाउने भएका छन् । सुदर्शन थापाको निर्देशनमा बन्न लागेको चलचित्रमार्फत पूजा दर्शकमाझ आउन लागेकी हुन् । अमितकुमार बस्नेत र अजितकुमार थापाको निर्माण चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा उनले पारिश्रमिक स्वरुप मोटो रकम बुझेकी छन् । हालै उनी १५ लाख रुपैयाँमा उक्त चलचित्रमा आबद्ध भएकी जनाइएको छ ।
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले भर्खरै पुनम गौतमको फिल्ममा १५ लाख रुपैयाँ पारिश्रमिक लिएकी थिइन् । साम्राज्ञीसँगै पूजा पनि महंगो नायिकामा दह्रिएकी छिन् । ‘प्रेम गीत’ पछि आफनै ब्यानरको फिल्ममा रमाइरहेकी पूजाले ब्यानर भन्दा बाहिरको फिल्ममा राम्रो पारिश्रमिक पाउन सफल भएकी हुन् । माघबाट छायांकन सुरु हुने चलचित्रमा पूजाको अपोजिटमा नव–नायक सोनम तोप्देन र अर्का एक नायक रहने छन् । सोनम पक्का भए पनि अर्का नायक को हुने फिक्स भइसकेको छैन ।
पूजाले बर्षमा एउटा मात्र सिनेमा खेल्दै आएकी छिन् । सोही कारणले पनि एउटा फिल्ममा पूर्ण समर्पित भएर काम गर्ने पूजाले बताइन् । सिनेमाका लागि सोनम तोप्देन फाइनल भैसकेका छन् । पछिल्लो समय नेपाली चलचित्रमा अभिनेत्रीहरुको स्टारडम बढेसँगै डिमाण्ड पनि बढ्न थालेको पाइएको छ ।