पूर्वप्रधानन्यायाधीश खत्रीको अन्त्येष्टि, भोलि देशभरका अदालत बन्द हुने

title
शनिबार, जेष्ठ ११, २०७६

काठमाडौं : पूर्वप्रधान न्यायधीश नयनबहादुर खत्रीको अन्त्येष्टि गरिएको छ । ९६ वर्षको उमेरमा बिहिबार राती खत्रीको निधन भएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशहरुको पशुपति आर्यघाटमा बसेको पूर्णबैठकले पूर्वप्रधानन्यायाधीश खत्रीको निधनमा शोक प्रस्ताव पारित गर्दै भोलि देशभरका सबै अदालत बन्द गर्ने निर्णय समेत गरेको छ । निर्णय अनुसार भोलि सोमबार देशभरका जिल्ला अदालत, उच्च अदालत, सर्वोच्च अदालत, विशेष अदालतहरु बन्द हुनेछन् ।

विक्रम सम्वत् १९८० साल असोज ३ गते ललितपूर जिल्लामा जन्मिएका खत्री २०३१ सालमा प्रेस काउन्सिलको अध्यक्ष समेत बनेका थिए । २०३३ सालमा सर्वोच्चको प्रधानन्यायाधीश बनेका खत्री २०४२ सालसम्म प्रधानन्यायाधीश रहेका थिए ।

राष्ट्रिय मानवअधिकार आयोगका पहिलो अध्यक्ष समेत बनेका खत्री कानून आयोगका समेत अध्यक्ष बनेका थिए । उनले चीनका लागि नेपाली राजदूतको रुपमासमेत काम गरेका थिए ।

खत्रीले कानुन सुधार आयोगको अध्यक्षको रुपमा समेत तीन पटक काम गरेका थिए । कानुन मन्त्रालयको सचिव भएर न्यायलयतर्फ गएका खत्रीले नेपालको सर्बोच्च अदालतमा छैटौ प्रधानन्यायाधीशका रुपमा सबैंभन्दा लामो कार्यकाल नेतृत्व लिएका थिए ।