जोडिनुहोस
शुक्रबार, फाल्गुन १६, २०८१
शुक्रबार, फाल्गुन १६, २०८१
  • होमपेज
  • पूर्वप्रमुख निर्वाचन आयुक्त यादव पनि माओवादीको अभियानमा

पूर्वप्रमुख निर्वाचन आयुक्त यादव पनि माओवादीको अभियानमा

नेकपा माओवादी केन्द्रले चलाइरहेको ‘जनतासँग माओवादी, तराई-मधेश जागरण अभियान’मा पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव पनि जोडिएका छन् । सप्तरीको राजविराजमा शुक्रबार आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरूसँगको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त यादव पनि जोडिएका हुन् ।

राजविराजमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र माओवादीसँग एकताको निर्णय गरेका नेपाल समाजवादीका अध्यक्ष महिन्द्र राय यादवले पनि सम्बोधन गरेका थिए । माओवादी नेताहरूले सम्बोधन गरेको उक्त कार्यक्रमलाई अतिथिका रुपमा सहभागी पूर्वप्रमुख निर्वाचन आयुक्त यादवले पनि आफ्ना भनाइ राखे ।

पूर्वप्रमुख निर्वाचन आयुक्त यादवले सम्बोधनका क्रममा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको संस्थापक दल भन्दै माओवादीको प्रशंसा गरे । उनले गणतन्त्रको संस्थापक भएका नाताले यो व्यवस्थाको रक्षा र कार्यान्वयनका लागि माओवादीले नै पहल लिनुपर्ने जिकिर गरे।नेपालको अर्थ-सामाजिक रुपान्तरण अबको मूल दायित्व भएको उनले उल्लेख गरेका प्रचण्डको सचिवालयले जनाएको छ ।

मुलुकलाई समाजवादमा लैजान खोजिए पनि आर्थिक विभेद अझै कायम रहेकाले यसमा गहिरो ध्यान ध्यान जानुपर्ने पनि यादवले बताएका छन् । यसअघि नेसपा अध्यक्ष महिन्द्र राय यादव पनि बिहीबारदेखि माओवादीको तराई(मधेश अभियानमा जोडिएका थिए । सुनसरीको बर्जू गाउँपालिका-१ शुक्रबारेमा आयोजित सभाबाट यादव उक्त अभियानमा जोडिएका थिए ।

उनलाई माओवादी अध्यक्ष प्रचण्डसहितले स्वागत गरेका थिए। माओवादीले सुरू गरेको ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’को पाँचौँ दिन सप्तरीमा अभियान चलिरहेको छ।

कहिले माओवादीमा जोडिए अयोधी यादव ?

संवैधानिक अंगको प्रमुख र सदस्यबाट बिदा भएका व्यक्ति दलको विभागीय सदस्य बन्ने प्रचलन कमै छ। कानुनी निषेध नभए पनि संवैधानिक अंगमा बसिसकेकाहरू कमैमात्र राजनीतिमा लागेको उदाहरण छ ।

तर पूर्वप्रमुख आयुक्त यादव र भ्रष्टाचार मुद्दा खेपेका आयुक्त सुधीर शाह २०७८ मंसिर तेस्रो साता नै माओवादी केन्द्रको निर्वाचन विभागको सदस्य नियुक्त भएका थिए । उक्त विभागमा अधिवक्ता खिमलाल देवकोटा नेतृत्वमा २८ सदस्य छन् ।

माओवादीले यही फागुन १२ गतेदेखि ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ झापाको कचनकवलबाट शुरू गरेको थियो । त्यही अभियानमा यादव पनि सप्तरीबाट जोडिएर माओवादी नै उत्तम विकल्प भएको बताएका हुन् ।

डा। यादव १३ महिना लामो कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारीपछि २०७३ असार २७ गते प्रमुख निर्वाचन आयुक्त बनेका थिए ।

त्यसबेला राष्ट्रपति विद्यादेवी भण्डारीले डा। यादवलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी थिइन् । यादव निर्वाचन आयोगको प्रमुख आयुक्त बनेकै दिन सुशीला कार्कीले पनि प्रधानन्यायाधीश पदको गोपनीयताको शपथ लिएकी थिइन् ।

२०६३ सालदेखि निर्वाचन आयोगमा कार्यरत उनी २०७५ चैत १० गते निर्वाचन आयोगबाट बिदा भएका थिए । त्यसपछि उनी माओवादीतिर जोडिएका हुन् ।

धेरै टिप्पणी गरिएका