पूर्वराजदूत केशव झाको मृत्यु शंकास्पदः प्रहरी

title
सोमवार, भदौ ४, २०७५

काठमाडाैं । प्रहरीले पूर्वराजदूत केशव झाको मृत्यु शंकास्पद रहेको भन्दै अनुसन्धान शुरु गरेको जनाएको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त लामाले प्रारम्भिक अनुसन्धानबाट छुरा प्रहार गरी हत्या भएको अनुमान गरिएको बताउनुभयो ।

सोमवार बिहान काठमाडौको बबरमहलस्थित आफ्नै निवासमा झा मृत अवस्थामा फेला पर्नुभएको थियो । घटनाबारे विस्तृत अनुसन्धान शुरु भइसकेको र प्रहरी चाँडै निष्कर्षमा पुग्ने उहाँले बताउनुभयो । उहाँले घटनाको प्रकृति हेर्दा लुट्ने योजना नदेखिएको बताउनु भयो ।

विगतको प्रहरी कार्यशैलीमा नयाँपन आइसकेको बताउँदै एसएसपी लामाले गलत काममा सोर्सफोर्स नचल्ने र अपराधीसँग सम्झौता नगर्ने जिकिर गर्नुभयो ।