राष्ट्रियसभा बैठकबाट पूर्वसांसद पङ्गेनीको निधनमा शोकप्रस्ताव पारित

title
सोमवार, साउन २१, २०७५

काठमाडौं । राष्ट्रियसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा शोकप्रस्ताव पारित गरेको छ ।

सोमवार बसेको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको शोकप्रस्ताव सर्वसम्मतले पारित भएको हो । बैठकले पङ्गेनीको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेको थियो ।

पङ्गेनी २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं २ बाट संविधानसभा सदस्य पदमा निर्वाचित हुुनुभएको थियो । ऐतिहासिक जनआन्दोलन २०४६ र गणतान्त्रिक तथा प्रजातान्त्रिकलगायतका आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका पङ्गेनी कांग्रेस स्याङ्जा जिल्ला कार्यसमितिका सभापति र समाजसेवी समेत हुनुहुन्थ्यो ।

पङ्गेनीको आइतबार बिहान स्याङ्जास्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो । राष्ट्रियसभाको अर्को बैठक २३ गते ११ बजे बोलाईएको छ ।