पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईयो

title
बिहिबार, चैत्र ७, २०७५

काठमाडौ । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

विभिन्न संघसंस्थाले कोइरालाको स्मृतिमा देशका विभिन्न स्थानमा र विदेशमा रहेका नेपालीहरुले पनि विधिध कार्यक्रम गरेका छन् । कोईरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो । नवौं स्मृति दिवसका अवसरमा जिपी कोईराला कलेजले पनि काठमाडौंमा बिशेष कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा सभामुख कृष्णबहादुर महराले गिरिजाप्रसाद कोइराला नेपालको शान्तिप्रक्रियाका नायक भएको बताउनुभयो । १२ बुँदे सम्झौतादेखि पछाडिका शान्ति प्रकृयाका महत्वपूर्ण काम पूरा गर्न कोइरालाको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापाले गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोमा हिँड्नुपर्ने आवश्यकता औंल्याउनुभयो । देशमा देखिएको बेरोजगारी समस्या समाधानका लागि व्यवहारिक शिक्षाको आवश्यकता रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा सभामुख महराले बिभिन्न व्यक्ति लगायत कलेजका उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्नुभएको थियो । राणाशासनको विरोध गरेबापत भारतको विहार राज्यको टेडी, सहर्षामा निर्वासित जीवन बिताइरहेको समयमा विसं १९८१ मा कोइरालाको जन्म भएको थियो ।

लोकतन्त्र प्राप्तिपछि भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहबाट ‘एसियाकै महान् नेता’ को सम्मान पाउनु भएका कोइराला सशस्त्र युद्धमा रहेको तत्कालिन नेकपा माओवादी पार्टीलाई शान्ति प्रक्रियामा ल्याउन सफल भएकाले पनि उहाँको नाम नेपालको राजनीतिक इतिहासमा चर्चित रहेको छ ।