पोखरा महानगरपालिकामा गुण्डागर्दी मौलायो, प्रहरी बेखबर

title
शनिबार, भदौ २३, २०७५

कास्की । देशको मुख्य पर्यटकीय स्थल पोखरा आसपास क्षेत्रमा गुण्डागदी मौलाउँदै गएको स्थानीयले बताएका छन् । उनीहरुले दिनप्रतिदिन गुण्डागर्दी मौलाउँदै गएपनि प्रहरी भने बेखबर बनेको आरोप लगाएका छन् ।

कास्कीको कोत्रे, गगनगौडा, बाघमारा, निर्मलपोखरी, भरतपोखरी, चिर्काते साँघु, बेगनाशताल, तालचोक, सैनिकबस्ती, रिठेपानी, अर्घौचोक, बुढीबजार, अर्चले, विजयपुर, छिनेको डाँडा, अमरसिंह चोक, हेम्जाबेसी, लेवारेकुना, विन्द्यवासीनी आसपास, कुवँरफाँट लगाएतका स्थानमा गुण्डागर्दीको विगविगी बढेको स्थानीयबासिन्दा गामबहादुर गुरुङ, अच्युत ढकालले जानकारी दिए ।

अमरसिंह चोकका स्थानीय विनोद बिक, चिनिमाया तामाङ र सन्तबहादुर कार्कीले जँड्याहा र गुण्डाहरुले सम्साँझै होहल्ला गर्दे हिड्ने मात्रै होइन, आतंक मच्चाइरहेको बताए ।

त्यस्तै कास्कीकै बाउमाराका स्थानीय धर्म क्षेत्री, बसन्ती पोडेल, अर्जुन परियार र गोरे गुरुङले भने–गुण्डा आतंक नै सिर्जना भएको छ तर प्रहरी भने बेखबर बनेको छ ।


अर्घौचोक, घरेलुचोक, गण्डकी मेडिकल क्षेत्रमा समेत साँझ नपर्दै मादक पदार्थ सेवन गरी होहल्ला गर्ने प्रवृत्ति बढेको बताए । स्थानीय कुमाल गाउँभित्र लोकल कुखरा र रक्सी खाने गरेको नाम नबताउने सर्तमा स्थानीय दुईजनाले हाम्रा सम्वादातालाई जानकारी दिए ।

त्यस्तै बुढीबजार, वेगनासताल लगाएतका क्षेत्रमा समेत दिनदहाडै घरेलु हतियार लिएर हिड्ने गरेको स्थानीयले बताए । उनीहरुले स्थानीय प्रहरीलाई जानकारी गराएपनि प्रहरीले भने वास्ता नगरेको बताउँछन् । गुण्डालाई स्थानीय प्रहरी, केही वुद्धिजीवी र राजनीतिक दलका नेताहरुले प्रयोग गरिरहेको स्रोतले बतायो । स्थानीयले समयमै गुण्डागर्दी गर्नेहरुविरुद्ध प्रहरी कडा रुपमा प्रस्तुत नभए थप मौलाउदै जानसक्ने खतरा समेत रहेको बताउँछन् ।