प्रचण्ड सार्वजनिक भएको १४ वर्षमा माओवादी नै विलायो

title
सोमवार, असार २, २०७६

श्रीकृष्ण सुवेदी । काठमाडौँ । तत्कालिन युद्धरत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल शान्तिपूर्ण बार्तामार्फत सार्वजनिक भएको १४ वर्ष पुरा भएको छ । दोश्रो जनआन्दोलनको सफलतापछि तत्कालिन सात दल र नेकपा माओवादीबीच सहमति भई युद्धविराम मार्फत भूमिग प्रचण्ड पहिलो पटक २०६३ असार २ गते प्रधानमन्त्री निवास बालुवाटारमा सार्वजनिक भएका थिए ।

प्रचण्डसंगै तत्कालिन माओवादीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईलाई लिन तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला सेनाको हेलिकप्टर मार्फत कास्की गएका थिए । कास्किबाट सिधै बालुवाटार पुगेका तत्कालिन माओवादीका शीर्ष नेताहरु सोहि दिन सांझ पत्रकार सम्मेलनमार्फत सार्वजनिक भएका थिए । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाललगायत नेतासंगको वार्तापछि नेपाल र सिटौलासंगै प्रचण्ड र भट्टराई सार्वजनिक भएका थिए ।

त्यसयता नेपालमा औपचारीक गणतन्त्र स्थापना भई दुई दुई पटक संविधानसभा चुनाव सम्पन्न भयो । साथै, संविधानसभामार्फत नेपालको संविधान जारी भएको छ । तत्कालिन युद्धका कमाण्डर दाहाल र नेता भट्टराई प्रधानमन्त्री भैसकेका छन् । अर्का कमाण्डर नन्दबहादुर पुन उपराष्ट्रपति छन् । १४ वर्षको यो अबधीमा नेकपा माओवादी औपचारीक रुपमा अस्तित्वमा छैन ।

युद्धका कमाण्डरहरु चिरा चिरा भैसकेका छन् । युद्धको नेतृत्व गरेको नेकपा माओवादी र त्यसका अध्यक्ष प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको दलमा छन् । अर्का नेता माओवादी आन्दोलनबाट अलग भई नयां शक्ति हुंदै समाजवादी दलमा समाहित भएका छन् ।

शीर्ष नेतासंग युद्धमा रहेका तत्कालिन माओवादीका वरिष्ठ नेता मोहन वैद्य सानो झुण्डमा केन्द्रीत छन् । उनी नेकपा क्रान्तिकारी माओवादीको नाममा क्रियाशील छन भने नेत्र विक्रम चन्द ‘विप्लव’ मओवादी आन्दोलनलाई पूर्णता दिन भन्दै भूमिगत बनेका छन् । जसलाई सरकारले अपराधिक समूह घोषणा गरी प्रतिबन्ध लगाएको छ ।

प्रचण्डको सार्वजनिक १४ वर्षको यात्रामा उनले अनेकौं आरोह अवरोह संगै विवाद मुक्त भने हुन सकेनन् । सार्वजनिक हुंदाको दिन दिएको अभिव्यक्तिसंगै विवादमा परेका प्रचण्डको त्यो यात्रा अहिलेसम्म पनि पटक पटक दोहोरिरहेको पाइन्छ ।