प्रचण्डले भने– सरकारले काम गर्न सकेन, अब प्रधानमन्त्रीसँग छलफल गर्छु

title
बुधबार, अशोज १०, २०७५

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जनचाहनाअनुसारको काम सरकारले गर्न नसकेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा नेपाल पर्यटन यातायात व्यवसायी संघको १५औं साधारणसभा उद्घाटन गर्दे अध्यक्ष दाहालले जनचाहनाअनुसारको काम सरकारले गर्न नसकेकाले पार्टी र सरकारले समीक्षा गर्ने बताउनुभएको हो । उहाले सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा आफुले केहि दिनमा प्रधानमन्त्रीसंग छलफल गर्ने धारणा पनि राख्नुभयो ।

त्यस्तै अध्यक्ष दाहालले पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकता दिदै मुलुकको समृद्धि र बिकासको बाटोमा अघि बढ्नुपर्ने बताउनुभयो । नेपालको आर्थिक क्षेत्रको मेरुदन्डकारुपमा रहेको पर्यटन उद्योगको विकासबिना मुलुकको समृद्धि अगाडि बढ्न नसक्ने उहाको भनाई छ ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको र पर्यटनमैत्री यातायातलाई व्यवस्थित गरिने भन्दै काठमाडौंमा चाँडै नै पर्यटक बसपार्क निर्माण गरिने जानकारी दिनुभयो ।कार्यक्रममा पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै विभिन्न संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो ।