
काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा हालै सरकारले जारी गरेका ६ अध्यादेशहरू निर्णयार्थ प्रस्तुत हुनेछन् ।
सरकारले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, “आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश ल्याएको छ ।
यस्तै, आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक सबन्धी समितिको प्रतिवेदन, २०८१ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक सबन्धी समितिको प्रतिवेदन’ पेश गर्नेछन् ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक सबन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नेछन् ।
संसद सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९–८०’ पेस गर्ने कार्यसूची छ ।