प्रदीपको म्यूजिक भिडियो मोह

title
बुधबार, कार्तिक १४, २०७५

काठमाडौं । नाट्य क्षेत्रमा लामो समयदेखि संघर्षशील निर्देशक प्रदीपकुमार चौधरी म्यूजिक भिडियोमा पनि सक्रिय हुन थालेका छन् । उनी थियटरका राम्रो प्रशिक्षक हुन् । उनले हाल अनामनगरमा रहेको नायक दयाहाङ राईले सञ्चालन गरेको मण्डला थिएटरमा विभिन्न कलाकारहरुले नाटक सम्बन्धी विभिन्न ज्ञान–सीप र कला सिकाउँदै आएका छन् ।

नाटकमा व्यस्त भइरहँदा चौधरीले भिडियो निर्देशनमा पनि डेब्यु गरेका छन् । निर्देशक चौधरीले गायक अशोक सिवाको आवाज रहेको ‘ए कान्छी’ बोलको गीतको भिडियो निर्देशन गरेर म्युजिक भिडियो निर्देशनमा हात हालेका हुन् । पहिलोपटक म्युजिक भिडियो निर्देशन गरेका प्रदिपले कालापत्थरमाथि, मसानटार, घर्ताली आतंक, विगत या वर्तमान, उठौं जागौं, एक युगमा एक दिनलगायतका नाटक लेखन एवं निर्देशन गरेका छन् ।

गाईघाटलाई केन्द्र बनाएर नेपाली संगीतको क्षेत्रमा क्रियाशील गायक शिवाले लामो समयको अन्तरालमा ‘ए कान्छी’ बोलको गीत र भिडियो लिएर दर्शक र श्रोता माझ आएका हुन् । ट्राभल स्टोरी समेटिएको भिडियो प्रदीपले निर्देशन गरेका हुन् । हरी हुमागाईंको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन रहेको भिडियोमा नायिका सारा शिर्पाली, करण श्रेष्ठ, रियाज आचार्य, समित कपाली, धिरज आचार्य, प्रदीप रावल, गोकुल पोखरेल, विकास लामाले अभिनय गरेका छन् ।