प्रदीपले पाइला उचाल्न पीर मान्नुको राज खुल्यो

title
शुक्रबार, भदौ २२, २०७५

काठमाडौं । युवापुस्तामा अभिनेता प्रदीप खड्काको क्रेज बढ्दो छ । उनले डेब्यू गरेको चलचित्रदेखि हालसम्म उनी लभ स्टोरीको चलचित्रमै सफल भएका कारण उनी आफ्ना आगामी चलचित्र पनि लभ स्टोरी नै होस् भन्ने चाहन्छन् ।

‘प्रेमगीत’ हुँदै ‘लिलिबिली’ सम्म आइपुग्दा उनी आफ्नो चकलेटी फेसबाट लाखौं दर्शकको मन जित्न सफल भए । उनको क्रेजलाई क्यास गर्न दर्जनाैं निर्माता तथा निर्देशकहरु आफ्नो चलचित्रमा अनुबन्धित गर्न चाहान्छन् ।

एक फिल्मको ३० लाख बढी बुझ्ने उनले हालै ५० लाख पारिश्रमिकमा नयाँ फिल्म साइन गरेको चलचित्रवृत्तमा चर्चा पनि छ । तर, किन लभस्टोरी फिल्ममा मात्र रुमलिरहेका छन् उनी ? उनले भने ‘अहिले मलाई दर्शकले जुन जनराका फिल्ममा रुचाइरहनु भएको छ, त्यही गर्दा राम्रो हुन्छ । ट्रयाक चेञ्ज गर्दा पचाउन गाह्रो हुनसक्छ ।’

उनको भनाइमा पनि धेरैहदसम्म सत्यता छ । किनकी एक्सन चलचित्रमा रुचाइएका अभिनेता लभस्टोरी तथा कमेडी चलचित्रमा देखिँदा दर्शकको नजरमा पर्न नसकेको नेपाली चलचित्रमा देखिएको विगत पनि छ । अर्को अर्थमा भन्नुपर्दा बजारमा जे बिक्ने हो त्यसैको व्यापारीले व्यापार गर्ने न हुन् ।

त्यसैले पनि प्रदीपका लागि लभस्टोरीमै राम्रो छाप परेको हुनसक्छ र अन्त पाइला उचाल्न चाहन्नन् । उनी अभिनित चलचित्र रोज यो शुक्रबारबाट प्रदर्शनमा आएको छ । यसपछि उनी फिल्म ‘लभ स्टेशन’ गर्दैछन् । यो फिल्म त पूर्ण लभस्टोरी नै हुने छ । हातमा आएका अन्य जनराका धेरै फिल्म उनले छाडिसकेको दाबी गर्दछन् । उनले भने ‘चलचित्र ‘ए मेरो हजुर २’, ‘छक्का पञ्जा २’ र हालै ‘दाल भात तरकारी’का लागि पनि अफर आएको थियो । तर, ती चलचित्रमा साइन गरिनँ ।’

अभिनेता खड्का तत्काल हुलमुलका र कमेडी फिल्म नगर्ने सोचमा छन् । सोलो हिरो भएर उनी लभस्टोरी फिल्ममा नै राज गर्न चाहन्छन् ।  पछिल्ला फिल्ममा अभिनय शैली एउटै भएको आरोप खेपिरहेका उनलाई प्रशंसकहरुले समेत फरक जनरा रोज्न आग्रह गरिरहेका छन् ।

कलाकार भएपछि भर्सटायल हुनसक्नुपर्छ भन्ने आम बुझाइ भए पनि कमाएको क्रेज एकैपकट ओरालो लाग्ने हो कि ? भन्नेतर्फ पनि उनी सायद बेलैमा सचेत भएको हुनुपर्छ । र अर्को पाटो लभस्टोरीबाट नै उनले भविष्य देखेका पनि हुन सक्छन् ।