प्रदीपसँग पहिलो पटक साम्राज्ञीको  रोमान्स

title
सोमवार, मंसिर ३, २०७५

काठमाडौं ।  चलचित्र ‘ड्रिम्स’ चम्किएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाल पछिल्लो पुस्ताकी व्यस्त नायिका हुन् । उनी अभिनित प्रायः चलचित्रले दर्शकको राम्रो साथ पाएका छन् । युवापुस्ताले निकै रुचाइएकी नायिका साम्राज्ञीको चलचित्र यात्रा सफल बन्दै गएपछि उनको एकाएक डिमाण्ड बढेको पनि हो।

डेब्यु फिल्ममा नै उनी अनमोलमाथि भारी परेकी थिइन् । यो फिल्मपछि उनले आफ्नो करिअरलाई फर्केर हेर्नु परेको छैन न त आत्मसमिक्षा नै गर्ने फुर्सद छ उनीसँग । डिमान्ड जतिजति चर्किदो छ पारिश्रमिकको मामलामा पनि उनी अग्रस्थानमा छिन् ।

‘ए मेरो हजुर २’, ‘तिमीसँग’ र ‘इन्टु मिन्टु लण्डनमा’मा लगभग ५–७ लाख पारिश्रमिक बुझेकी उनले अभिनेता आर्यन सिग्देलसँग रोमान्स गर्न फिल्म ‘कायरा’ मा १० लाख बुझेकी थिइन् । गएको एक वर्ष अगाडिसम्म यो रकम नेपाली अभिनेत्रीहरुले बुझ्दै आएकोभन्दा धेरै थियो । अहिले उनी चलेका अभिनेतासरह पारिश्रमिक बुझ्ने अभिनेत्रीमा दरिन्छिन् ।
‘ड्रिम्स’ पछि उनको ‘ए मेरो हजुर २’ सुपरहिट साबित भएको थियो ।

‘तिमीसँग’ र ‘कायरा’ औसत रहे । ‘इन्टु मिन्टु…’को इनिसियल बक्सअफिस आक्रामक भए पनि घरेलु बजारबाटै लगानी सुरक्षित गर्न भने सकेन । ट्याटु काण्ड, गाउँले रोल रिजेक्टलगायतका कन्ट्रोभर्सीका कारण क्रेजमा केही दखल पुगेपनि उनको डिमान्डमा त्यसले रत्ति असर पु¥याएको छैन ।  दिनमा एकभन्दा बढी फिल्मको स्क्रिप्ट सुन्दै आएको बताउने साम्राज्ञीले गएको दुई हप्ता अगाडि ‘मंगलम’ फेम्ड निर्देशक नवल नेपालले निर्देशन गर्ने फिल्म साइन गरेकी थिइन् । फिल्ममा उनको जोडी अभिनेता पुष्पल खड्कासँग बाँधिएको छ । उनलाई यो फिल्म गर्न निर्मात्री पुनम गौतमले १५ लाख दिएकी छन् ।

करीब १० वटा फिल्म लत्याएर उनले उक्त फिल्म साइन गरेको खबर छ । उनी फिल्ममा अनुबन्ध भएको खबरले भन्दा बढी महँगो पारिश्रमिकले सबैको ध्यान खिचेको थियो । अब निर्देशक नेपालको फिल्म साइन गरेको दुई हप्ता वित्दै गर्दा उनले युवा निर्देशक हेमराज विसीको फिल्म साइन गरेकी छन् ।

शुक्रवार निर्माण टिमसँग उनको कागजी सम्झौता भएको बुझिएको छ । यो फिल्म पनि उनले १५ लाखमा नै गर्न राजी भएको खबर प्राप्त भएको छ । पारिश्रमिकबाहेक उनलाई टिमले ड्रेसका लागि थप २ लाख छुट्याएको समेत बुझिएको छ । यो अनटाइटल प्रोजेक्टमा उनको जोडी स्टार अभिनेता प्रदीप खड्कासँग बाँधिएको छ ।

यसअघि विभिन्न फिल्ममा सँगै काम गर्ने चर्चा भए पनि यो कपललाई एउटै फिल्ममा ल्याउन हेमराज सफल भएका हुन् ।  २ हप्तामा २ फिल्म साइन गरेर ३० लाख हात पारेसँगै साम्राज्ञी नेपाली फिल्मकी सबैभन्दा महँगी अभिनेत्रीको सुचीमा सुचिकृत भएकी छिन् । हुनत, हालै अभिनेत्री पूजा शर्माले निर्देशक सुदर्शन थापाले निर्देशन गर्ने बाहिरी ब्यानरको फिल्म ‘सम्हालिन्छ कहिले मन’ गर्न १५ लाख बुझेकी थिइन् । अभिनेत्री नम्रता श्रेष्ठले पनि फिल्म ‘प्रसाद’ मा १५ लाख लिएको खबर छ ।

त्यसो त प्रदिप खड्का र साम्राज्ञी अहिले नेपाली सिनेमामा सबै भन्दा चर्चामा रहेको नाम हो । यी दुईको फिल्म हलमा लाग्ने बित्तिकै दर्शकको ओइरो लाग्ने गर्दछ । अहिलेको अवस्थामा यि दुईको नाम नै काफी रहेको छ । ब्याक टु ब्याक हिट फिल्म दिएका प्रदिप र साम्राज्ञीलाई लिएर फिल्म बनाउन चाहने निर्माता निर्देशकहरुको लामै लाइन लाग्ने गर्दछ ।

निर्माताहरुलाई यी दुईलाई लिएर फिल्म बनाउँदा लगानी सुरक्षित हुन्छ भन्ने लाग्दछ । यस्तै यी दुईको अपोजिटमा रहेर काम गर्न चाहनेहरु पनि प्रसस्तै रहेका छन् । दर्शकहरु पनि यि दुईको फिल्म हेर्न निकै आतुर हुने गर्दछन् । केही समय यता प्रदिप र साम्राज्ञी एकै फिल्ममा काम गर्ने चर्चा चलिरहेकै बेल हेमराज बिसीको नयाँ चलचित्रमा यो जोडीले सँगै काम गर्ने चर्चा चले पनि पक्का भने भएको थिएन ।

हेमराज बिसीको चलचित्रमा काम गर्न प्रदिप तयार भए पनि साम्राज्ञीले कन्फर्म नगरदा अन्यौल भएको थियो । तर अन्ततः अब प्रदिप र साम्राज्ञीको जोडीलाई दर्शकले एकै चलचित्रमा देख्न पाउने भएका छन् । अर्थात अहिलेकी मस्ट डिमाण्डेड अभिनेत्री साम्राज्ञीले हेमराज बिसीको नयाँ चलचित्र साइन गरेकी छिन् । प्रदिपले भने यस अघि नै चलचित्रको लागि सम्झौता गरिसकेका थिए ।

अर्को वर्षको बैशाखबाट छायांकन शुरु हुने भनिएको चलचित्रका लागि साम्राज्ञीले महँगो पारीश्रमिक लिएको बताइएको छ । यो जोडीले सँगै एउटै फिल्ममा काम गर्ने पक्का भए पछी अब दर्शक माझ चलचित्रको प्रतिक्षा बेग्र हुने पक्का छ ।
यस अघि प्रदीप–साम्राज्ञीको जोडीलाई दर्शकले डिस होमको टिभिसीमा एकसाथ देखेका थिए । छिट्टै नाम घोषणा गरिने यो सिनेमा ह्याप्पी प्लानेट र काफिया फिल्मस्को व्यानरले निर्माण गर्न लागेको हो ।

सिनेमाका प्रस्तुतकर्ता गोविन्द शाहीका अनुसार सिनेमाको छायांकन आगामी जेठसम्ममा सकिने छ । चार करोड लगानी रहने भनिएको सिनेमाको छायांकन जर्मन, फ्रान्स, स्विजरल्यान्ड, बेल्जियम र इटाली लगायतका स्थानमा गरिने निर्माणपक्षले जनाकारी दिएको छ ।