प्रदीप र पूजामध्ये दर्शकको साथ कस्लाई ?

title
आइतवार, भदौ २४, २०७५

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत गत शुक्रबारबाट दुई चलचित्र ‘रामकहानी’ र ‘रोज’ प्रदर्शनमा आए । यी दुबै चलचित्र दर्शकका लागि भन्दा पनि निर्देशक तथा चलचित्रका कलाकारका लागि निकै नै प्रतिस्पर्धी चलचित्रका रुपमा हेरियो । चलचित्र प्रदर्शनमा आएसँगै दुबै चलचित्रको तथ्य सार्वजनिक हुन थालेको छ । निर्माण पक्षले भने आ–आफ्नो चलचित्रले राम्रो व्यापार गरिरहेको दाबी गरिरहेका छन् । हलमा दर्शकको भीडलाई हेर्ने हो भने प्रदीप भन्दा पूजा केही अघि देखिएकी छिन् । दुई दिन हलमा देखिएको भीडबाटै पूजाले उछिनिन् भन्ने अवस्था भने छैन । एक साताको व्यापारिक रिपोर्ट सार्वजनिक भएमात्र को उत्रिए को पछारिए ? पत्तो लाग्नेछ ।

प्रदर्शनको पहिलो दिन दुबै चलचित्रके औसत दर्शक पाए । दोस्रो दिन शनिबार भएको हुँदा दुवै चलचित्रले पहिलो दिनको भन्दा केही बढी दर्शक पाउनु स्वभाविकै रह्यो । चलचित्र ‘प्रेम गीत’ बाट रातारात स्टार बनेका नायक प्रदिप खड्का अभिनित ‘रोज’ देशभरको ९७ हलमा प्रदर्शनरत छ । चलचित्रमा प्रदिप सँगै मिरुना मगर, परमिता आरएल राणा र कर्माको मुख्य अभिनय रहेको छ । यस अघिको फिल्महरुको लभर बोइको भूमिकाका देखिएका प्रदिप ‘रोज’ मा भने केही फरक भूमिकामा देखिएका छन् । चलचित्रमा परमिता प्रदिपको प्रेमिका, मिरुना वकिल र कर्मा प्रहरीको भूमिकामा देखा परेका छन् ।

चलचित्रमा प्रदिप र परमिताको प्रेममा आउने उतार चढावलाई देखाइएको छ । ‘रोज’ एउटा फरक किसिमको कथा बोकेको चलचित्र हो । नेपाली दर्शकहरुले हेर्दै आइरहेको भन्दा फरक कथा चलचित्रले बोकेको छ । सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको चलचित्रको कथाबस्तु अनुसार मेकिङ भने त्यती दमदार हुन नसकेको समीक्षा हुन थालेको छ । एउटा बलियो कथाबस्तु माथिको मेकिङ भने कमजोर देखिएको छ । डेढ घण्टा लामो रहेको चलचित्र हेर्दा कथाबस्तुले दर्शकलाई बाँधेर राख्न सक्छ तर मेकिङले भने दर्शकहरुलाई पट्यार लाग्न सक्छ । प्रदिप खड्काको फिल्ममा मकिङ यति फितलो भएको यो नै पहिलो चलचित्र होला सायद ।

चलचित्रको कथा बस्तु अनुसार प्रस्तुतीमा निकै राम्रो गर्न सक्ने देखिए पनि निर्माण टिम त्यसमा चुकेका छन् । चलचित्र राम्रो पक्ष भनेकै कथा बस्तु हो र त्यो कथा बस्तु निकै सुन्दर तरिकाले बगेको छ । फिल्मको इन्डिङ पनि राम्रो छ । तर अन्त्यतिर कथामा आउने टुइस्टलाई अझै घुमाउन सकेको भए फिल्म सस्पेन्सले भरिपूर्ण हुन सक्ने थियो । दर्शकहरु अझ उत्साहित हुन सक्ने थिए । घटनालाई अझै थ्रिलिङ बनाउन सकिन्थियो । जुन कुरामा फिल्म टिम चुकेको छ । रोज (परमिता) र अभी (प्रदिप) को प्रेम सम्बन्धमा आउने उतारचढावलाई अझै केही लम्याउने सकिने थियो । फिल्ममा रोमान्टिक फ्लेवर अझै थप्न सकिने थियो । सस्पेन्स फिल्मको घट्ना क्रमलाई जुन तरिकाले प्रस्तुत गरिएको छ त्यसमा अझै काम गर्ने सक्ने ठाउँहरु देखिन्छ ।

यही मितिमा प्रदर्शनमा आएको अर्को चलचित्र रामकहानी भने केही माथि देखिएको छ । रामकहानीको व्यापारबाट यसका कलाकार खुशी देखिएका छन् । फिल्मले पहिलो दिन ५० प्रतिशत भन्दा माथिको व्यापार गरेको वितरकहरुको भनाइ छ । फिल्मको व्यापार वुझ्न राजधानीको विभिन्न हलमा पुगेका यसका कलाकार प्रतिक्रियाले खुशी देखिए ।

अभिनेत्री तथा निर्मात्री पूजा शर्माले फिल्मलाई दर्शकले अत्यन्त मन पराएको भन्दै शनिबारदेखि व्यापार अझै माथि हुन निर्माण पक्षको विश्वास छ । निर्देशक सुदर्शन थापाले फिल्मको शोहरु बढेको बताए । राजधानी बाहिर पनि सिनेमाको ओपनिङ व्यापार ५० प्रतिशतको हारहारीमा छ । सिनेमाको प्रतिक्रिया वुझ्न राजधानीको विभिन्न हलमा पुगेका यसका कलाकारले दर्शकले कमेडी र सिरियस दुबै पाटोलाई मन पराएको बताए । सिनेमामा दर्शकले दिएको मायाबाट आफू अत्यन्त खुशी भएको अभिनेता आकाश श्रेष्ठले बताएका छन् ।

गोपी कृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ‘रोज’ प्रेम कथामा आधारीत चलचित्र हो । चलचित्रलाई सस्पेन्स लभ स्टोरी भन्दा पनि हुन्छ । चलचित्रमा प्रेमीले आफ्नै प्रेमिकाको हत्या गरेको कथा रहेको छ । नायक प्रदिपले आफ्नै प्रेमिकाको हत्या गर्छन् र आफुले हत्या गरेको हो भनेर भन्छन् तर प्रदिपको कुरालाई कसैले पत्याउन सक्दैनन् । आखिर उनले आफ्नै प्रेमिकाको हत्या किन गरे त ? त्यो नै चलचित्रको मुख्य कथा हो ।

लभस्टोरी फिल्म बनाउन माहिर सुदर्शन थापाले निर्देशन गरेको चलचित्र ‘रामकहानी’ सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको चलचित्र हो । चलचित्रको ट्रेलरमा नै थ्रिलर दृश्यहरु देखाइएको थियो । सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेको चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन बिक्रम राई, राजाराम पौडेल, रबिन्द्र झा आदिको अभिनय रहेको छ । चलचित्रमा नायिका पूजाले एउटा आत्माको भूमिका निर्वाह गरेकी छिन् जसलाई आकाश मन पराउछन । यस्तै चलचित्रमा जितु नेपालले पहिलो पटक खलनायकको भूमिका निर्वाह गरेका छन् ।

यसरी बिग ब्यानार र स्टार कलाकारहरुले भरिपूर्ण चलचित्रहरु एक साथ रिलिज हुँदा ब्यापारमा केही न केही असर त पक्कै पर्नेछ । रोचक कुरा त के छ भने ‘प्रेम गीत’ मा निकै रुचाईएका जोडी प्रदिप खड्का र पूजा शर्माको फिल्म एक साथ प्रदर्शन हुँदा यी दुईबीचको भिडन्तका रुपमा समेत हेरिएको छ । एकसमयका प्रेम र गीतबीच अहिले प्रेम नभई घृणा रहेको छ । जसले जे भने पनि दुबै चलचित्रको भिडन्तमा न्याय दिलाउने भनेका आखिर दर्शक नै हुन् । किनकी इश्र्या, दुस्मनी, रिस–रागले चलचित्र चल्ने होइन । चलचित्रको व्यापारिक कारोबारले ठूलो अर्थ राख्छ भन्ने दुबै पक्षले बुझ्नु जरुरी हुन्छ । नेपाली चलचित्रको बजार ओरालो लागेको अवस्थामा दुस्मनी जस्तै गरी एकै मितिमा प्रदर्शनमा आउनुले पक्कै पनि दुवैका लागि चुनौती छ ।