प्रदेश ५ को प्राथमिकतामा खेलकुद क्षेत्र, १११ खेल मैदान बन्दै

title
शुक्रबार, साउन ४, २०७५

५ करोड ५५ लाख रूपैयाँ छुट्याइयो
रुपन्देही । नेपालमा खेलकुद क्षेत्रले गति लिन नसकिरहेका बेला प्रदेश नम्बर पाँचले भने खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै खेलकुदलाई हेर्ने दृष्टि फराकिलो बनाएको छ । खेलकुदको विकास गरी दक्ष खेलाडी उत्पादन गर्न प्रदेश पाँचमा एकैसाथ १ सय ११ वटा खेलकुद मैदान बन्ने भएका छन् ।

प्रदेश–५ को कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले फुटबलको दायरा फराकिलो बनाउन जरूरी रहेको बताए । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रदेश स्तरीय अन्तक्र्रिया र कार्यशालाको बिहीबार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरलले भने, ‘अबदेखि फुटबल खेलाडी छनोटको दायरा फराकिलो बनाउन जरुरी छ । जसको स्टामिना राम्रो छ, कुदेर थाक्दैन र गोल गर्ने कला पनि छ ।’ हालसम्म पदाधिकारी निकटका मान्छेका छोराछोरीलाई छनोट गर्ने परिपाटीले नेपालको फुटबल खेल पछाडि परेको बताए ।

फुटबल खेलाडी छनोट गर्दा ‘स्टामिना’ राम्रो भएको, कुद्न सक्ने र गोल हान्ने कौशल (कला) भएका खेलाडी छनोट गर्न सकिएन भने राज्यले जतिसुकै लगानी गरेपनि उपलब्धी नहुने मुख्यमन्त्री पोखरेलले स्पष्ट पारे । एकैसाथ १ सय ११ खेल मैदान निर्माण गर्ने घोषणाले केन्द्र सरकारको खासै प्राथमिकतामा पर्न नसकेको खेलकुद क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा पर्न थालेको देखिएको हो ।

प्रदेश सरकारले ‘एक स्थानीय तह, एक खेल मैदान’ भन्ने नाराका सबै गाउँ नगरमा आवश्यकता अनुसार फुटबल, क्रिकेट र भलिबल खेल मैदान तयारीमा जुटेको हो । प्रदेश ५ का १२ जिल्लामा १ सय ९ वटा स्थानीय तह छन् । मुख्यमन्त्री शंकर पोखरेलले ४ वटा उपमहानगरपालिका (बुटवल, तुलसीपुर, घोराही र नेपालगञ्ज) मा रंगशाला र अन्य स्थानीय तहमा आन्तरिक प्रतियोगिता खेल्न सक्ने गरी खेल मैदान बनाउने तयारीका साथ बजेट विनियोजन गरेको बताए । खेल मैदान निर्माणका लागि ५ करोड ५५ लाख रूपैयाँ प्रदेश सरकारले छुट्याएको छ ।

रंगशालामा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता पनि गर्न सकिने छ । ‘प्रदेश सरकारले खेलकुदको विकासमा बजेट तथा खेल मैदानको कमी हुन दिने छैन,’ मुख्यमन्त्री पोखरेलले भने, ‘एउटा खेल मैदान बनाउन ५० लाख रूपैयाँका दरले बजेट पनि छुट्याएका छौं । २ वर्षभित्र मैदानको फाउन्डेसन बनाउँछौ । अब खेलाडीले मैदान भएन भनेर चिन्ता लिनु पर्दैन ।’

फुटबल, क्रिकेट र भलिबलको लागि ५ नम्बर प्रदेश उर्वर भूमि मानिन्छ । त्यसको लागि हालसम्म व्यववस्थित खेल मैदान नहुँदा आन्तरिक प्रतियोगिता समेत हुन सकेका छैनन् । जसले गर्दा खेलाडीले प्रतिभा निखार्न पाएका छैनन् । एन्फा अध्यक्ष कर्म छिरिङ शेर्पाले खेलकुदको लागि नेपालमा पूर्वाधार नहुँदा नेपाली खेलकुद क्षेत्र पछाडि परेको बताए । ‘सन् १९९४ मा नेपाल र क्रोएसिया फुटबलमा एउटै अवस्थामा थिए,’ शेर्पाले भने, ‘अहिले क्रोएसियाले विश्वकपको फाइनल खेल्यो । त्यहाँ पूर्वाधार भए, यहाँ भएनन् ।’ ‘खेलकुलको विकासका लागि सबै प्रदेशमा १÷१ वटा अन्तर्राष्ट्रिय स्तरका रंगशाला अनिवार्य बनाउनुपर्छ,’ उनले भने ।

शेर्पाले नेपाली फुटबल तल्लो तहदेखि नै विकास गर्ने उद्देश्यले ४५ जिल्लामा भदौमा ‘ग्रासरुट’ कार्यक्रम नै सञ्चालन गर्न लागिएको र स्थगित भएको शहीद स्मारक लिग पनि यसै वर्ष सूचारु गर्न लागिएको अध्यक्ष शेर्पाले बताए । पहिलो पटक एकैसाथ धेरै संख्यामा खेल मैदान बनाउने सरकारको तयारीपछि खेलाडी हौसला बढेको छ ।