प्रदेश ७ प्रधानसेनापति कपको क्वार्टरफाइनलमा

title
बिहिबार, मंसिर ६, २०७५

काठमाडौं– अस्मिता चौधरीको निर्णायक गोलमा प्रदेश नम्बर एकमाथि २–१ को जित हासिल गर्दै प्रदेश नम्बर सात प्रधान सेनापति कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ ।

खेल सकिन ३ मिनेट बाँकी रहँदा अस्मिताले गरेको निर्णायक गोलमा सात नम्बर प्रदेशले प्रतियोगितामा विजयी नतिजा निकाल्यो । त्यसअघि निलम सिंहको गोलबाट प्रदेश नम्बर सातले अग्रता लिए पनि प्रदेश नम्बर एककी इमा राईले गोल फर्काउँदै खेल बराबरीमा ल्याएकी थिइन ।

भद्रकालीस्थित सेनाको मैदानमा मध्यान्तर हुन चार मिनेट बाँकी रहँदा निलमले सात नम्बर प्रदेशलाई अग्रता दिलाएकी थिइन । इमाले समय सकिन सात मिनेट बाँकी रहँदा खेल बराबरीमा ल्याएकी थिइन । पेनाल्टी बक्सबाट इमाले गरेको प्रहार विपक्षी गोलकिपर कल्पना थापाको हातबाट फुत्किएर गोलमा परिणत भएको थियो । सात नम्बर प्रदेशले क्वार्टरफाइनलमा आयोजक त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

जितपछि प्रदेश नम्बर सातका प्रशिक्षक ललित चन्दले विना तयारी आफ्नो टोलीले राम्रो प्रदर्शन गरेको बताए । खेलाडीको उच्च मनोबलले प्रदेश नम्बर एकको बलियो टोलीलाई हराउन सफल भएको बताउँदै उनले थपे, ‘राम्रो प्रदर्शनका लागि हामीले खेलाडीसँग बनाएको योजना सफल भयो ।’

पराजित टोलीका प्रशिक्षक पारस चौधरीले रक्षापंक्तिमा समस्या आउँदा नतिजा आफ्नो पक्षमा पार्न नसकेको बताए । यसैबीच बुधबार भएको अर्को खेलमा प्रदेश नम्बर तीनले चारमाथि ४–१ को गोलअन्तरले जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । लगनखेलस्थित सेनाको मैदानमा प्रदेश तीनलाई जिताउन मनिषा थापाले उत्कृष्ट प्रदर्शन गरिन् । प्रदेश तीनले अब क्वाटरफाइनलमा विभागीय क्लब एपीएफसँग खेल्नेछ ।

१२ टोली सहभागि प्रतियोगिताको विजेताले ३ लाख ,उपविजेताले १ लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टोलीले ५०–५० हजार पुरस्कार पाउने सेनाले जनाएको छ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई स्कुटर पुरस्कार पाउने छन् ।