प्रधानन्यायाधिशको सुनुवाई विहिबार हुने

title
सोमवार, साउन ७, २०७५

काठमाडौँ । प्रधान्यायाधीशका लागि सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध संसदीय सुनुवाइ समितिमा ५ वटा उजुरी दर्ता भएको छ ।

जिल्ला, उच्च र सर्वाेच्चसम्मको कार्यसम्पादनका क्रममा जोशीले कार्यक्षमताको अभाव देखाएको भन्दै यस्ता उजुरी दर्ता भएका छन् । यसअघि समितिले जोशीका नाममा सार्वजनिक सूचना जारी गर्दै उजुरी माग गरेको थियो । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले उक्त उजुरी दर्ता गर्ने उजुरीकर्तासंग मंगलबार छलफल गर्ने निर्णय गरेको छ ।

उक्त उजुरीमाथि साउन १० गते बिहीबार सुनुवाई हुने समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । दर्ता भएका पाँचवटा उजुरीमाथि छानविन गर्दै सुनुवाइ समितिमा जोशीसँग जवाफ लिइने कर्णले बताउनुभयो ।

सुनुवाई समितिको कार्यविधिअनुसार २ तिहाइले अस्वीकार गरे मात्र उहाँको सिफारिस बदर हुनेछ । संबैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइपछि राष्ट्रपतिबाट प्रधानन्याधीश नियुक्त हुने संवैधानिक व्यवस्था रहेको छ । प्रधानन्याधीश पदका लागि गत चैत १३ मा न्यायपरिषद्ले दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम संवैधानिक परिषद्मा पठाएको थियो ।

संवैधानिक परिषद्ले जोशीको नाम मात्र प्रधानन्यायाधीशका लागि सिफारिस गर्दै संसदीय सुनुवाइ समितिका पठाएको थियो । चैत १ गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएपछि जोशी कायममुकायम प्रधानन्यायाधीशका रुपमा कार्यरत रहदै आउनुभएको छ ।