प्रधानमन्त्रीबाट माथिल्लो त्रिशुली थ्री बीको शेयर बिक्री शुभारम्भ

title
बिहिबार, चैत्र ७, २०७५

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गरी जनताको शेयर आवेदन शुभारम्भ गर्नुभएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले  प्रधानमन्त्री निवास बालुवाटारमा गरेको कार्यक्रममा उहाँले १० हजार कित्ता शेयरका लागि आवेदन दिनुभएको हो । उहाँकी धर्मपत्नी राधिका शाक्यले १० हजार, ऊर्जामन्त्री वर्षमान पुनले एक हजार र पूर्वसभामुख ओनसरी घर्तीले दुई हजार कित्ताका लागि आवेदन दिनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताका साना साना पूँजी संकलन गरेर ठूला आयोजनामार्फत आफ्नो मुलुक आफैँ बनाउन सकिने बताउभयो । प्रधानमन्त्री ओलीले मौरीले फूलको रस ल्याएर चाका बनाएजस्तै ठूला आयोजनामा जनताको लगानी बढाएर देशलाई स्वाधीन र समृद्ध बनाउन सकिने बताउनुभयो ।

यस आयोजनामा शुरुमा शेयरका लागि १० प्रतिशत रकम मात्र दिए पुग्छ । आवेदन यही चैत ११ गतेसम्म जारी रहने बताइएको छ । ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’ भन्ने नारासहित यो कार्यक्रम गत फागुन २ गते उद्घाटन गरिएको थियो ।