प्रधानमन्त्रीबाट संसदमा सम्बोधन: धमिलो पानीमा माछा मार्ने रहर नगर्न प्रतिपक्षीलाई सुझाव

title
आइतवार, पुस २२, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले धमिलो पानीमा माछा मार्ने काम नगर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई चेतावनी दिनुभएको छ ।

आईतवार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पानीलाई धमिलो पार्ने र धमिलो पानीमा माछा मार्ने रहर नगर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई चेतावनी दिनुभएको हो ।

कर्मचारी समायोजन अध्यादेशलाई लिएर विपक्षीले गरेको विरोधप्रति लक्षित गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिपक्षी दलले सरकारले गरेका राम्रा कामलाई ओझेलमा पार्ने गरि अपवादका घटनालाई अनावश्यक उचाल्ने गरेको दाबी गर्नुभयो ।

सार्वजनिक महत्वको विषयमा बोल्न रोष्टममा पुग्नुभएका प्रधानमन्त्री ओलीले ठाडै संसदमा उठेका रंगीविरंगी प्रश्नको सम्बोधन नगर्ने स्पष्ट पार्नुभयो । उहाँले वर्तमान सरकारको मुख्य कार्यभार संघीय लोकतान्त्रिक गणतन्त्रको प्रभावकारी कार्यान्वयन गर्ने रहेको भन्दै त्यसका लागि सुशासन र विकासको महाअभियान आवश्यक रहेको र त्यही महाअभियानमा वर्तमान सरकार जुटेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा योजना राम्रो काम भएकाले जस कसले लिने भन्ने विषयमा बहस नगर्न प्रतिपक्षी दललाई आग्रह गर्नुभयो । केही सांसद र विभिन्न दलका केही नेताहरुले चित्त दुखाएको प्रशंग जोड्दै पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई आफैले ल्याएको कार्यक्रम प्रति खिसिट्युरी नगर्न अनुरोध गर्नुभयो ।

अपवादलाई आम रुपमा प्रचार गर्ने र उल्लेख्य सफलतालाई ओझेलमा पारेर कृतिम परिस्थिति श्रृजना गर्ने अनुचित प्रयासप्रति उहाँले दुख ब्यक्त गर्नुभयो ।