प्रधानमन्त्रीले निर्मलाका बाबुआमालाई भने : कुनैपनि हालतमा अपराधीले उन्मुक्ति पाउने छैन

title
सोमवार, अशोज १, २०७५

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा निर्मला हत्याकाण्डका अपराधीले उन्मुक्ति नपाउने स्पष्ट पार्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा निर्मालाका आमाबुवा दूर्गादेवी र यज्ञराज पन्तसंगको भेटमा प्रधानमन्त्री ओलीले निर्मला हत्याकाण्डका अपराधीलाई कुनै पनि हालतमा सजाय दिइने स्पष्ट पार्नुभएको हो । प्रधामन्त्री ओलीले अब कुनै पनि हालतमा अपराधीले उन्मुक्ति नपाउने भन्दै अपराधी जसरी पनि पत्ता लाग्ने भन्दै अपराधी पक्राउ पर्ने उल्लेख गर्नुभयो ।

त्यस्तै उहाँले घटनाको अनुसन्धान जारी रहेको भन्दै अनुसन्धानको प्रक्रियामा ढिलोचाँडो हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले छिटो भन्दा छिटो अनुसन्धान आफूले गृहमन्त्रीलाई आवश्यक निर्देशन दिइसकेको भन्दै अपराधी पक्राउ पर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । प्रहरी निलम्बनदेखि अनुसन्धानका लागि नयाँ टोली गठन गरिएको भन्दै प्रधानमन्त्री ओलीले निर्मलाका बुवाआमालाई दोषी पक्राउ पर्नेमा ढूक्क रहन आग्रह गर्नुभयो ।

भेटमा निर्मलाका आमाबुवाले प्रधानमन्त्री ओलीसँग भावुक हुँदै आफ्नी छोरीको हत्यारा पत्ता लगाउन गम्भीर हुन आग्रह गरेका थिए । निर्मलाकी आमा दूर्गादेवी पन्तले यो हरेक नेपाली चेलीको समस्या भएको भन्दै यसको जडसम्म पुगेर कारवाही हुनुपर्ने बताउनुभयो ।

निर्मलाका बुवाआमासँगै प्रधानमन्त्रीलाई भेट्न कञ्चनपुरबाट आएका महिला अधिकारकर्मी तथा कञ्चनपुरका नेताहरु पनि बालुवाटार गएका थिए । कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पुग्न लाग्दा समेत अपराधीलाई पक्रन नसकेको भन्दै चौतर्फी विरोध भईरहेको छ ।